६ वटा वाणिज्य बैंक कारबाहीमा
प्रमुख कार्यकारीलाई सचेत गराउनेदेखि दुई करोड ३७ लाखसम्म जरिबाना
काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेसनल कारबाहीमा परेका हुन् । यी बैंकहरूले बैंक तथा वित्तीय संंस्था सञ्चालनसम्बन्धी ऐनविपरीत कार्य गरेको भन्दै कारबाही गरिएको राष्ट्र बैंकले जनाएकोे छ ।
चालू आर्थिक वर्ष २०८०/०८१ मा नियमविपरीत कार्य गर्नै वाणिज्य बैंकहरू र बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागबाट गरिएको कारबाहीअन्तर्गत दुईवटा बैंकलाई दुई करोड ३७ लाख रुपैयाँभन्दा बढी नगद जरिबाना र बाँकी बैंकहरूलाई भने सचेत गराइएको राष्ट्र बैंकले जानकारी दिएको छ । कारबाहीअन्तर्गत लक्ष्मी सनराइज बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशनको उल्लङ्घन गरेकोले ७० लाख रुपैयाँ जरिबाना तिराइएको केन्द्रीय बैंक सुपरिवेक्षण विभागको भनाइ छ ।
हिमालयन बैंकले पनि कर्जा/निक्षेप अनुपात कायम नगरेको आधारमा एक करोड ६७ लाख ७१ हजार चार सय ३४ रुपैयाँ नौ पैसा नगद जरिबाना तिराइएको छ ।
राष्ट्र बैंकका अनुसार एनएमबी बैंकलाई भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य कारबाही शीर्षकअन्तर्गत रहेर कारबाही गरिएको छ । यसअन्तर्गत सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधनसहित)को दफा १० को उपदफा (क) बमोजिम व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा भनी प्रदान गरिएको कर्जा व्यावसायिक प्रयोजनका लागि नभई अन्य प्रयोजनका लागि प्रवाह गरेको पाइएकोले उक्त कर्जामा प्रदान गरिएको ब्याज अनुदानको सम्पूर्ण रकम ऋणीबाट फिर्ता गराई नेपाल राष्ट्र बैंकमा जम्मा गर्न निर्देशन दिइएको ।
साथै, सोसम्बन्धी कार्यविधि तथा यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेकोमा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी एनआईसी एसिया बैंकलाई पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य कारबाही शीर्षकअन्तर्गत नै रहेर कारबाही गरिएको छ । यसअन्तर्गत अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५ को बुँदा नं. ३ को (८) मा उल्लिखित व्यवस्थाविपरीत हुनेगरी ग्राहकहरूसँग बढी लिएको ब्याज सम्बन्धित ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिइएकोमा कतिपय ग्राहकको खातामा फिर्ता नगरेको एवं आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा पनि निर्देशनविपरीत ब्याज बढाएको, क्यापिटल ऐडुकेसी फ्रेमवर्क, २०१५ विपरीत कर्जाको जोखिम भार कम प्रदान गरी गलत रिपोर्टिङ गरेको, राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशनको निर्देशन नं १५ को बुँदा नं. ३ को (८) समेत उल्लङ्घन गरेको पाइएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा एक सयको उपदफा (२) (क) अनुसार नसिहत दिइएको राष्ट्र बैंकको भनाइ छ । साथै, उपयुक्त कार्यहरूको समयमै निगरानी तथा अनुगमन नगरी यस बैंकबाट जारी एकीकृत निर्देशनको इ.प्रा. निर्देशन नं. ६/०७९ को सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वसम्बन्धी निर्देशनको बुँदा नं. (घ) र (ङ) समेत पालना नगरी यस बैंकबाट जारी निर्देशनको उल्लङ्घन गरेको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) अनुसार सञ्चालक समितिलाई सचेत गराइएको जानकारी पनि राष्ट्र बैंकले दिएको छ ।
नबिल बैंकलाई पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले अन्य कारबाही शीर्षकअन्तर्गत रहेर कारबाही गरेको छ । यस्तो कारबाहीअन्तर्गत नबिल बैंकले इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५/०७८ को ३(८) उल्लङ्घन गरी ब्याजदर बढाएको पाइएकाले नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सञ्चालक समितिलाई सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन नं. १५/२०७९ को ३ विपरीत नियमित ब्याज र पेनाल असुलीसँगै बैंकको कोर बैंकिङ सिस्टममा राखी कर्जामा अतिरिक्त जोखिमअन्तर्गत एक दशमलव पाँच प्रतिशतले बढी ब्याज असुल गरेको, क्यापिटल ऐडुकेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको, राष्ट्र बैंकको एकीकृत निर्देशन नं. १५/०७८ को ३ (८) विपरीत प्रिमियम बढाएको, ऋणी ग्राहकहरूसँग त्रैमासिकरूपमा कर्जाको प्रशासनिक शुल्क लिनेगरेको तथा संस्थागत मुद्दती निक्षेपमा ग्राहकहरूलाई प्रकाशित ब्याजदरभन्दा कम ब्याज उपलब्ध गराएको देखिएकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकको भनाइ छ । यसैगरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई पनि चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अन्य शीर्षकअन्तर्गत रहेर कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअन्तर्गत राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०७९ कोनिर्देशन नं. २ बमोजिम कर्जा सापटको वर्गीकरण नगरेको, कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था कायम नगरेको, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको तथा प्रिमियम दरमा निर्देशनविपरीत पटक–पटक वृद्धि गरेकाले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन दफा एक सयको उपदफा (२) (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया