Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिष्क्रिय कर्जा थप नबढ्ने बैंकरको दाबी

निष्क्रिय कर्जा थप नबढ्ने बैंकरको दाबी


काठमाडौं । गत आर्थिक वर्षको अन्त्यमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा दुई दशमलव ९८ प्रतिशत थियो । चालू आर्थिक वर्षकोे तीन महिनामा निष्क्रिय कर्जा शून्य दशमलव ६३ प्रतिशत विन्दुले बढेर तीन दशमलव ६१ प्रतिशत पुगेको छ । बैंकरहरुले खराब कर्जा अहिले उच्चतम विन्दुमा रहेकाले आगामी दिनमा थप नबढ्ने दाबी गरेका छन् ।

बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणबारे जानकारी दिन नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले अर्थतन्त्र सुस्त हुँदाकोे असर बैंकहरुको वित्तीय विवरणमा देखिएको बताए । उनले बैंकहरुकोे नाफा घट्नु र खराब कर्जा बढ्नुको पृष्ठभूमि कोभिड–१९को समयदेखिलाई नै लिनुपर्ने बताए ।

अध्यक्ष केसीले खराब कर्जा थप नबढ्ने दाबी गरे पनि सजग भएर अगाडि बढ्नुपर्ने स्थिति रहेको बताए । अहिलेको खराब कर्जा व्यवस्थापन गर्नसक्ने अवस्थामै रहेको उनको दाबी छ ।

अहिले छवटा वाणिज्य बैंकको खराब कर्जा चार प्रतिशतभन्दा बढी छ । कृषि विकास बैंकको खराब कर्जा सबैभन्दा धेरै पाँच दशमलव ३३ प्रतिशत छ । कार्यक्रममा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले पनि खराब कर्जा योभन्दा नबढ्ने दाबी गरे । उनले बैंकहरुको खराब कर्जाको व्यवस्थापनको लागि सरकारले अल्पकालको लागि ‘स्पेसल पर्पोज भेहिकल’को रूपमा विशेष नीति लिनुपर्ने बताए ।

अध्यक्ष केसीले निष्क्रिय कर्जा केही बढे पनि जोखिम भने नरहेको बताए । ‘कर्जा डिफल्ट’ केही बढेको भए पनि खराब कर्जा भइहाल्ने सम्भावना कम भएको बताए । यस्तो कर्जालाई अहिले प्रोभिजनिङ गरेर जाँदा पछि कर्जा रिकभरी हुँदा राइटब्याक हुने बताए ।

व्यवसाय सामान्य : बैंकहरुको ब्याज आम्दानी खासै बढ्न नसकेको बैंकरले बताए । तीन महिनामा एक खर्ब २० अर्ब थप निक्षेप संकलन भएको र ९४ अर्ब नयाँ कर्जा प्रवाह भएको अध्यक्ष केसीले बताए । शुल्क तथा आम्दानी पनि करिब एक अर्ब रुपैयाँले मात्रै बढेको बैंकरहको भनाइ छ ।

अध्यक्ष केसीले अर्थतन्त्रमा आएकोे सुस्तताका कारण बैंकहरुको कर्जा प्रवाह बढ्न नसकेको बताए । निर्माण तथा साना व्यवसायमा बढी प्रभाव परेकाले पनि बैंकहरुको व्यवसाय घटेको उनले बताए ।

ब्याजदर घट्ने : अध्यक्ष केसीले नेपालभन्दा बाहिर अहिले ब्याजदर उच्च रहेको भए पनि नेपालमा घट्दै गएको दाबी गरे । गतमहिना अमेरिकाले ब्याजदर स्थिर राखेकाले अन्तर्राष्ट्रिय बजारमा पनि अब ब्याजदर बढ्दैन भन्ने सन्देश गएको र नेपालमा पनि ब्याजदर थप नबढ्ने उनको भनाइ छ ।

नेपालमा आधार दर एकल विन्दुमा झरेको पनि केसीले जानकारी दिए । यसअघि ११ प्रतिशतभन्दा माथि पुगेको वाणिज्य बैंकहरुको औसत आधारदर अहिले नौ दशमलव ९४ प्रतिशतमा झरेको छ ।

कर्जा प्रवाहमा सुस्तता आएपछि बैंकहरुले ब्याजदर पनि घटाउँदै लगेका छन् । ब्याजदर बजारले निर्धारण गर्ने भएकाले कर्जा प्रवाह हुन नसक्दा बैंकको ब्याजदर पनि घट्दै जानेछ । उनले अहिलेको ब्याजदरलाई उच्च भयो भन्ने अवस्था नरहेको बताए । अहिले वाणिज्य बैंकहरुको औसत ब्याजदर नै १० दशमलव शून्य नौ प्रतिशत रहेको केसीले जानकारी दिए ।

हिमायलन बैंकका सीईओ राणाले पनि अब ब्याजदर स्थिर रहने वा घट्दै जाने बताए । उनले ब्याजदर बढ्नेभन्दा पनि घट्ने अवस्था देखिएको बताए ।

एसियन बैंकिङ सम्मेलन हुने : संघले नेपालमा पहिलोपटक ‘एसियन बैंकर्स एसोसिएसन कन्फरेन्स’ हुन लागेको जानकारी समेत दिएको छ । कात्तिक २३ र २४ गते सो कन्फरेन्स हुन लागेको हो । कन्फरेन्समा एसियाका २५ देशका बैंकर्सहरु सहभागी हुनेछन् ।

कन्फरेन्स ‘रोडम्याप, रिकभरी एन्ड सस्टेनेबल ग्रोथ’ भन्ने थिममा हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनमा एसियाली क्षेत्रको बैंकिङको वर्तमान अवस्था र आगामी बाटोलगायतका विषयमा छलफल हुनेछ । कन्फरेन्समा विभिन्न देशका ७० जनाभन्दा बढी बैंकर्सले सहभागिता जनाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया