Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआर्थिक मन्दीको मारमा फाइनान्स कम्पनी

आर्थिक मन्दीको मारमा फाइनान्स कम्पनी

आधा दर्जन फाइनान्स खुद नोक्सानीमा, बाँकीको नाफा घट्यो


काठमाडौं । आर्थिक क्षेत्र सुस्त हुँदाको असर फाइनान्स कम्पनीहरूको नाफामा पनि परेको छ । आर्थिक मन्दीले वाणिज्य र विकास बैंकसँगै फाइनान्स कम्पनीको वित्तीय विवरण पनि प्रभावित भएको देखिएको छ । खासगरी फाइनान्स कम्पनीमा कर्जा असुलीको समस्या देखिएको छ । विगतमा प्रवाह भएको कर्जाबाट नियमितरूपमा साँवाब्याज उठाउन नसकेको तथ्यांक देखिएको छ । खराब कर्जा बढेको छ भने धेरै कम्पनीले खुद नोक्सानी व्यहोर्नु परेको छ ।

अहिलेसम्म १४ वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये आधा दर्जनभन्दा बढी कम्पनीहरूले खुद नोक्सानी व्यहोरेका छन् भने चारवटाको खुद मुनाफा घटेको छ ।

मञ्जुश्री र रिलायन्स फाइनान्सको खुद मुनाफा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीहरूले खुद नोक्सानी व्यहोरेका छन् । यी फाइनान्सहरूले क्रमशः पाँच करोड ६१ लाख ७० हजार, तीन करोड ५० लाख १७ हजार र पाँच करोड ३९ लाख ८० हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने यी फाइनान्सहरूले क्रमशः ५६ लाख ९० हजार, तीन करोड ८४ लाख २३ हजार र ३२ लाख ४६ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्सले पनि खुद नोक्सानी व्यहोरेका छन् । यी फाइनान्सले क्रमशः एक करोड ९८ लाख २२ हजार रूपैयाँ, दुई करोड ६१ लाख ८० हजार रूपैयाँ, दुई करोड दुई लाख ४४ हजार रूपैयाँ, छ करोड ११ लाख ८५ हजार रूपैयाँ र ९८ लाख ८७ रूपैयाँ खुद नोक्सानी व्यहोरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने यी फाइनान्सहरूले क्रमशः ३२ लाख ४६ हजार रूपैयाँ, ५९ लाख ३३ हजार रूपैयाँ, ९३ लाख ६६ हजार रूपैयाँ, ८१ लाख ८० हजार रूपैयाँ, तीन करोड २९ लाख ३१ हजार रूपैयाँ र तीन करोड १४ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए ।

मञ्जुश्री र रिलायन्स फाइनान्सको खुद मुनाफा भने चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ११ लाख ३७ हजार रूपैयाँ खुद मुनाफा कमाएको मञ्जुश्रीले अहिले खुद मुनाफा बढाएर आठ करोड २७ लाख ७५ हजार रूपैयाँ पु-याउन सफल भएको छ । यसैगरी रिलायन्स फाइनान्सले पनि गत आर्थिक वर्षको पहिलो त्रैमासमा चार करोड २५ लाख ३८ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेकोमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा पाँच करोड ३९ लाख ४३ हजार रूपैयाँ खुद मुनाफा कमाउन सफल भएको छ ।

आईसीएफसी, गोर्खाज, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स र जानकी फाइनान्सको खुद मुनाफा घटेको छ । यी फाइनान्सहरूले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा क्रमशः ९३ लाख ७७ हजार रूपैयाँ, छ करोड १६ लाख ९० हजार रूपैयाँ, दुई लाख ९१ हजार रूपैयाँ र चार लाख ३६ हजार रूपैयाँ खुद मुनाफा कमाएमा छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी फाइनान्सले क्रमशः तीन करोड ३४ लाख ५८ हजार रूपैयाँ, आठ करोड ११ लाख नौ हजार रूपैयाँ, २८ लाख ७२ हजार रूपैयाँ र २४ लाख १९ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया