५९ खर्ब नाघ्यो बैंकहरूको निक्षेप
काठमाडौं । बैंकिङ क्षेत्रको कुल निक्षेप ५९ खर्ब रुपैयाँ नाघेको छ । राष्ट्र बैंकले अद्यावधिक गरेको बैंक तथा वित्तीय क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी विवरणअनुसार कुल निक्षेप ५९ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ ।
यो निक्षेप २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी कुल ५४ वटा बैंक तथा वित्तीय संस्थाको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्रै ५२ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले छ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । चाडबाडका लागि रेमिट्यान्स आप्रवाह बढेपछि बैंकिङ प्रणालीको निक्षेप पनि बढ्दै गएको बैंकरहरु बताउँछन् ।
बैंक तथा वित्तीय संस्थाहरुले ४९ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले ४४ खर्ब छ अर्ब रुपैयाँ, विकास बैंक र फाइनान्स कम्पनीहरुले पाँच खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
मन्दीले अर्थतन्त्र दबाबमा परेको र निजी क्षेत्रको मनोबल खस्केको अवस्थामा बैंकहरुको निक्षेप बढ्नुले अर्थतन्त्रका लागि सकारात्मक संकेत गरेको छ । किनभने बैंकहरुको निक्षेप बढ्दै जाँदा कर्जा लगानी गर्ने क्षमता पनि बढ्छ । त्यसो त अहिले बजारमा कर्जाको माग त्यति धेरै बढ्न सकेको छैन । बैंकर्स संघका अनुसार यो चार महिनामा एक खर्ब पनि कर्जा प्रवाह हुन सकेको छैन । तर, यो अवधिमा निक्षेप एक खर्ब ४८ अर्ब रुपैयाँले बढेको छ ।
निक्षेप बढ्दै जाने र कर्जाको माग न्यून भयो भने ब्याजदर सस्तिँदै जान्छ । त्यसो त अहिले बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएर औसतमा एकल विन्दुुमा झरेका छन् । यसले कर्जाको ब्याजदर पनि घट्दै जाने देखिन्छ ।
अहिले बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१ दशमलव ३१ प्रतिशतमा झरेको छ । यसबाट बैंकहरु अझै थप पाँच खर्ब रुपैयाँ कर्जा लगानी गर्नसक्ने क्षमतामा भएको देखाउँछ । राष्ट्र बैंकका अनुसार बैंकहरूबीच हुने कारोबारको ब्याजदर पनि दुई दशमलव ९८ प्रतिशतमा झरेको छ ।
करिब दुई वर्षयता अर्थतन्त्रमा देखापरेको मन्दीका कारण कर्जा लगानी पनि प्रभावित भएको छ । खासगरी रुस–युक्रेन युद्धपछि महँगी बढ्दा आर्थिक क्रियाकलाप खुम्चियो र कर्जाको माग पनि घटेको थियो ।
गतवर्ष मूल्यवृद्धि लक्षित सीमाभन्दा माथि पुगेपछि केन्द्रीय बैंकले बजारमा माग पक्ष घटाई नियन्त्रण गर्न खोजेको थियो । त्यसपछि ब्याजदर बढ्यो र बजार प्रभावित भयो । आर्थिक कारोबारमा मन्दी आउँदा ऋणीले किस्ता तिर्न सकेनन् भने नयाँ कर्जाको माग पनि बढ्न सकेन ।
अहिले बैंकमा निक्षेप बढेको छ । लगानीयोग्य रकम पनि पर्याप्त छ । अर्थतन्त्रको बाह्य क्षेत्रका सूचकहरू बलियो अवस्थामा छन् । चाडपर्वले आन्तरिक बजारलाई केही चलायमान बनाएको छ । यद्यपि घरजग्गा क्षेत्रको कारोबारमा आएकोे मन्दीले अर्थमन्त्रमा दबाब अझै कायम छ ।
निक्षेप अधिक भएपछि बैंकहरुले कर्जा योजना समेत ल्याएको देखिन्छ । तर पनि अर्थतन्त्रमा गति आउन नसक्दा कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया