Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने, चुक्ता पुँजी १३ अर्ब १३ करोड रूपैयाँ नाघ्ने

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने, चुक्ता पुँजी १३ अर्ब १३ करोड रूपैयाँ नाघ्ने


काठमाडौँ, जेठ ७
मेगा बैंकले राष्ट्रियस्तरको गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति प्रक्रियामा जानको लागि मेगाले यही जेठ २१ गते बैंकको केन्द्रीय कार्यालय कमलादीमा विशेष सभाको आह्वान गरेको छ । उक्त सभाले प्राप्तिको लागि आवश्यक सबै प्रक्रिया गर्ने प्रस्ताव पारित गर्नेछ । प्राप्तिको लागि मेगाले एकबराबर एकको सेयर अनुपात कायम गरेको छ । यी सबै प्रस्तावहरू मेगाको जेठको तेस्रो सातामा हुुने विशेष सभाले पारित गर्नेछ ।

यसैगरी गण्डकी विकास बैंकले पनि सोही दिन बैंकको केन्द्रीय कार्यालय चिप्लेढुंगामा विशेष साधारणसभाको आह्वान गरेको छ । सभाले मेगासँग प्राप्तिमा जाने प्रस्तावका अतिरिक्त गण्डकी विकास बैंकको एक कित्ताबराबर मेगा बैंकको एक कित्ता सेयर हुुने गरी स्वाप रेसियो कायम गर्नेछ । प्राप्तिपश्चात् बन्ने मेगाको चुक्ता पुँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रूपैयाँ पुुग्ने छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदनलाई आधार मान्दा हाल मेगा बैंक मात्रको चुक्ता पुँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार चार सय ५० रूपैयाँ रहेको छ भने गण्डकी विकास बैंकको चुक्ता पुँजी दुुई अर्ब ७५ करोड रूपैयाँ पुुग्नेछ ।

प्राप्तिपश्चात् मेगाको कुुल निक्षेप एक खर्ब १७ अर्ब ७१ करोड ६७ लाख आठ हजार रूपैयाँ पुुग्नेछ । चालू आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुुसार मेगाको कुुल निक्षेप ८५ अर्ब सात करोड ४० लाख ७० हजार रूपैयाँ रहेको छ भने गण्डकी विकास बैंकको निक्षेप ३२ अर्ब ६४ करोड २६ लाख ८० हजार रूपैयाँ रहेको छ । यसैगरी प्राप्तिपश्चात् मेगाको कुुल कर्जा भने एक खर्ब छ अर्ब ३९ करोड ५१ लाख ५२ हजार रूपैयाँ पुग्ने छ । हाल मेगाको कर्जा रकम ७८ अर्ब ७४ करोड एक लाख सात हजार रूपैयाँ रहेको छ भने गण्डकीको कुुल कर्जा रकम २७ अर्ब ६५ करोड ५० लाख ४५ हजार रूपैयाँ रहेको छ ।

चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणलाई नै आधार मान्दा प्राप्तिपश्चात् मेगाको खुुद मुनाफा एक अर्ब ८२ करोड छ लाख २७ हजार रूपैयाँ पुुग्नेछ । मेगाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ४५ करोड १० लाख ९० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने गण्डकी विकास बैंकले ३६ करोड ९५ लाख ३६ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यसैगरी चालू आवको तेस्रो त्रैमासिक अवधिमा मेगामा एक दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा गण्डकी विकास बैंकमा भने शून्य दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया