Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकले कर्जामा दुुई प्रतिशत ब्याज छुुट दिने

नेपाल बैंकले कर्जामा दुुई प्रतिशत ब्याज छुुट दिने


काठमाडौँ जेठ ८
नेपाल बैंकले कर्जाको ब्याजमा दुुई प्रतिशत छुुट दिने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, वैश्विक महामारी कोरोना भाइरस (कोभिड १९)को कारणले गत २०७६ चैत्र ११ गतेदेखि नेपाल सरकारले देशव्यापी बन्दाबन्दी गर्दै आइरहेको छ । सोही कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा यही वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रहरूबाहेक अन्य सबै कर्जाहरूको २०७६ चैत्र मसान्तमा कायम ब्याजदरमा दुुई प्रतिशत बिन्दुले कम गरी २०७६÷७७ को चौथो त्रैमास (२०७७ को वैशाख, जेष्ठ र असार)को ब्याज गणना गर्न निर्देशन भएबमोजिम बैंकले २०७७ वैशाख १ गतेदेखि लागू हुनेगरी २०७६ चैत्र सम्म लगानी गरिएका कर्जाहरूमा चैत्र मसान्तमा कायम ब्याजदरमा दुुई प्रतिशतले छुट दिने निर्णय गरेको हो, बैंकले भनेको छ ।

बैंकका अनुुसार २०७६ चैत्र मसान्त सम्म लगानी भएका कर्जाहरू जस्तैः हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सूनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत्र मसान्तको आधारदर सात दशमलव ८२ मा लगाइएको प्रिमियममा दुुई प्रतिशतले छुट दिने व्यवस्था मिलाइएको छ । यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तूर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तूर तिर्नेहरूको हकमा २०७६ फाल्गुण मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरूले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा दुुई प्रतिशतले छुुट पाउनेछन्, बैंकले भनेको छ । २०७७ साल वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरूले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकले गर्ने जनाएको छ । यसप्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकहरूले बैंकको आधार दरबराबरकै अर्थात् सात दशमलव ८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।

बन्दाबन्दीको यो विशम परिस्थितिमा पनि बैंकले सम्भव भएसम्म न्यूनतम कर्मचारीहरूको उपस्थितिमा सुरक्षाका उपायहरू अवलम्बन गरी नगद कारोबार, चेक क्लियरिङलगायतका कारोबारहरू बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालन गर्दै आइरहेको छ । देशका कतिपय स्थानीय निकाय एवं जिल्ला प्रशासनद्वारा अनुरोध÷निर्देशन भई आएमा सोहीबमोजिम शाखाहरू आलोपालोमा सञ्चालन हुँदै आइरहेको र बैंकद्वारा डिजिटल बैंकिङको माध्यमबाट ग्राहकवर्गमा विभिन्न बैंकिङ सेवाहरू निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी समेत बैंकले दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार एक सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब २४ करोड ५५ लाख ७६ हजार आठ सय ४१ रूपैैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ८१ करोड ११ लाख ४८ हजार रूपैयाँ रहेको बैंकले चालू आवको पछिल्लो त्रैमासमा एक खर्ब २२ अर्ब ७० करोड तीन लाख ६६ हजार पाँच सय ५७ रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब एक अर्ब ६७ करोड ८६ लाख छ हजार एक सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब २१ करोड ८२ लाख ४६ हजार सात सय रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १७ अर्ब २० करोड सात लाख ८८ हजार नौ सय ३८ रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ४२ करोड १६ लाख ३७ हजार दुई सय ५९ रूपैयाँ कर्जा प्रवाह गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया