Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमधेश प्रदेशका उद्योगमा बैंककहरूको एक खर्ब १० अर्ब ऋण लगानी

मधेश प्रदेशका उद्योगमा बैंककहरूको एक खर्ब १० अर्ब ऋण लगानी


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले औद्योगिक कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको एक तथ्यांकअनुसार औद्योगिक कर्जा बढेको छ । राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा सात दशमलव तीन प्रतिशत कर्जा बढाएको जनाएको छ ।

आर्थिक वर्ष २०७९/८०को अन्तिमसम्म बैंक तथ वित्तीय संस्थाले मधेश प्रदेशमा रहेका उद्योग क्षेत्रमा एक खर्ब नौ अर्ब ५९ करोड रूपैयाँ ऋण लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात अर्ब रूपैयाँले बढी हो । आर्थिक वर्ष २०७८/७९मा बैंक तथा वित्तीय संस्थाले उद्योग क्षेत्रमा एक खर्ब दुई अर्ब १३ करोड रूपैयाँ ऋण लगानी गरेका थिए ।

गत आर्थिक वर्षमा मधेश प्रदेशका औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ६१ दशमलव आठ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव ३४ प्रतिशत छ । पर्सामा कुल ६६ अर्ब ९४ करोड ७८ लाख रूपैयाँ औद्योगिक कर्जा प्रवाह भएको छ भने सप्तरी जिल्लामा दुई अर्ब ५६ करोड ४२ लाख रूपैयाँ प्रवाह भएको छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकाले पर्सा जिल्लामा सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सिराहा जिल्लामा छ अर्ब २० करोड ४२ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ भने धनुषा जिल्लामा ११ अर्ब ४६ करोड ६९ लाख रूपैयाँ ऋण लगानी भएको छ । महोत्तरी जिल्लामा पाँच अर्ब ८२ करोड ७७ लाख रूपैयाँ कर्जा प्रवाह हुँदा सर्लाहीमा चार अर्ब ७४ करोड ११ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । रौतहट जिल्लामा चार अर्ब ७६ करोड ३९ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ । यसैगरी बारा जिल्लामा सात अर्ब सात करोड ६७ लाख रूपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५५ प्रतिशत, कृषि–वन तथा पेयपदार्थ उत्पादन उद्योगतर्फ ३१ प्रतिशत छ । धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ पाँच प्रतिशत, निर्माण उद्योगतर्फ छ प्रतिशत, खानी उद्योगतर्फ दुई प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ एक प्रतिशत कर्जा प्रवाह भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा खानी उद्योगमा ४६ दशमलव ७४ प्रतिशत, धातु उत्पादनमा आठ दशमलव ८१ प्रतिशत, कृषि वन तथा पेयपदार्थ उत्पादन, कृषि, वन तथा पेयपदार्थ उत्पादनतर्फ १३ दशमलव १३ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ ३० दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।

निर्माण र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगतर्फको कर्जा भने घटेको छ । प्रतिवेदनअनुसार निर्माण र धातुका उत्पादनतर्फ छ दशमलव एक प्रतिशत र मेसिनरी तथा इलेक्ट्रोनिक्स उद्योगतर्फ ३६ दशमलव सात प्रतिशतले कर्जा प्रवाहमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८०को अन्तिमसम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा ५३ खर्ब ८१ अर्ब रूपैयाँ रहेको छ । यसमध्ये मधेश प्रदेशको सात खर्ब सात अर्ब रहेको छ । यस आर्थिक वर्षमा जीडीपी राष्ट्रिय तहको उपभोक्ता मूल्यमा एक दशमलव ८६ प्रतिशत र मधेश प्रदेशको एक दशमलव ६९ प्रतिशत रहने देखिएको छ । मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन सबैभन्दा बढी योगदान कृषि क्षेत्रको ३५ दशमलव दुई प्रतिशत छ भने सबैभन्दा कम योगदान खानी तथा उत्खनन क्षेत्रको शून्य दशमलव दुई प्रतिशत छ ।

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव छ प्रतिशत, उद्योग क्षेत्रको १२ दशमलव नौ प्रतिशत र सेवा क्षेत्रको ६२ दशमलव चार प्रतिशत छ । मधेश प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ५४ दशमलव २५ प्रतिशत छ भने उत्पादन वृद्धि औसतमा पाँच दशमलव २३ प्रतिशत मात्रै देखिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया