Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकमा पैसा थुप्रिएपछि ३५ अर्ब तान्दै राष्ट्र बैंक

बैंकमा पैसा थुप्रिएपछि ३५ अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप बढ्दै गएको र कर्जाको माग न्यून भएपछि बैंकहरुले अधिक तरलताको सामना गरिरहेका छन् । केन्द्रीय बैंकले मंसिर छ गतेयता अधिक तरलता व्यवस्थापन गर्न १८ पटकसम्म निक्षेप संकलन बोलकबोलमार्फत पैसा तानेको छ । मंगलबार फेरि ३५ अर्ब रुपैयाँ तान्न लागेको छ । राष्ट्र बैंकले सो रकम १४ दिनका लागि प्रशोचन गर्न लागेको हो ।

केन्द्रीय बैंकले अहिलेसम्म दुई खर्ब ८२ अर्ब रुपैयाँ प्रणालीबाट खिचेको देखिन्छ । यस्तै तीन खर्ब २५ अर्ब रुपैयाँ तान्नका लागि आह्वान गरेको थियो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अहिलेसम्म बैंकिङ प्रणालीमा ६० खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ भने बैंक तथा वित्तीय संस्थाले ५० खर्ब ३३ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । बैंकहरुले कुल निक्षेपको ९० प्रतिशतसम्म ऋण लगानी गर्न पाउँछन् । तर, अहिले बैंकहरुले ७९ दशमलव ९६ प्रतिशत मात्रै लगानी गरेका छन् । बजारमा नयाँ कर्जाको माग अत्यन्तै न्यून भएकाले कर्जा लगानी गर्न नसकेको एक बैंकरले बताए ।

बजारमा आर्थिक क्रियाकलाप खुम्चिँदै गएकाले व्यवसाय गर्दा जोखिम हुने भएपछि बैंकमा निक्षेप राखेर ब्याज खानेहरु बढेका छन् । यही कारण बैंकमा निक्षेप तीव्र बढिरहेको छ भने कर्जाको माग बढ्न सकेको छैन । कर्जाको ब्याजदर एकल विन्दुमा अफर गर्दा पनि कर्जा जान नसकेको एक बैंकरले बताए ।

बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतको सीमाभित्र रहेर ऋण प्रवाह गर्न पाउँछन् । यस हिसाबले बैंक तथा वित्तीय संस्थासँग अझै चार खर्ब ४५ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गर्न सक्ने क्षमता छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले ५३ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि छ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संंकलन गरी पाँच खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले लगातार बैंकिङ प्रणालीबाट पैसा तानेपछि गतसाता अन्तरबैंक कारोबारको ब्याजदर तीन प्रतिशतभन्दा माथि पुगेको थियो । अहिले फेरि यस्तो ब्याजदर दुई दशमलव ८४ प्रतिशतमा झरेको छ । यही कारण केन्द्रीय बैंकले फेरि निक्षेप संकलन गर्न लागेको हो । आज बिक्री गर्न लागेको निक्षेप संकलन उपकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोल पेस गर्न सक्नेछन् ।

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एउटा हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि छ । मंगलबार निष्काशन हुने निक्षेप उपकरणको साँवाब्याज भुक्तानी माघ ९ गते हुनेछ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले निक्षेप उपकरण खरिदका लागि बोलकबोल पेस गर्न सक्नेछन् ।

खरिदकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्म बोलपत्र पेस गर्नसक्ने व्यवस्था छ ।

राष्ट्र बैंकले लगातार तरलता खिच्न थालेपछि बैंकहरुले पनि बढी ब्याजदर तोकेर बोलकबोल पेस गर्न थालेका छन् । दुई साताअघिसम्म एक प्रतिशत ब्याजदरमा बोलकबोल गरेका बैंकहरुले गतसाता ३ प्रतिशतभन्दा बढी ब्याज मागेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया