Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकिन घटाउँदै छन् बैंकहरूले गाडी खरिदको ऋण ?

किन घटाउँदै छन् बैंकहरूले गाडी खरिदको ऋण ?


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज अर्थात् सवारीसाधनमा कर्जा लगानी घटाएका छन् । गतवर्ष अर्थतन्त्रमा देखिएको संकुचनका कारण सवारीसाधनको खरिदबिक्री घटेको र सवारी कर्जाको मागमा पनि कमी आएपछि हायर पर्चेज कर्जा पनि कम गएको बैंकहरूले बताएका छन् ।

नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले एक खर्ब २९ अर्ब एक करोड ३० लाख रूपैयाँ गाडी खरिदका लागि ऋण उपलब्ध गराएका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० अर्ब ३२ करोड ५० लाख रूपैयाँले कम हो । गतवर्ष मंसिरसम्म बैंकहरूले हायर पर्चेजका लागि कुल एक खर्ब ४९ अर्ब ३३ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६० खर्ब १८ अर्ब ९६ करोड १० लाख रूपैयाँ थियो भने कुल कर्जा ४९ खर्ब ९२ अर्ब ९२ करोड ९० लाख रूपैयाँ थियो । गत आर्थिक वर्षको सोही कुल निक्षेप ५२ खर्ब ४९ अर्ब १७ करोड ६० लाख रूपैयाँ र कर्जा प्रवाह ४७ खर्ब ९० अर्ब आठ करोड १० लाख रूपैैयाँ थियो ।

वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ५३ खर्ब २५ अर्ब आठ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब १४ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये हायर पर्चेज क्षेत्रमा एक खर्ब नौ अर्ब ३५ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ अर्ब ५९ करोड ५० लाख रूपैयाँले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४६ खर्ब २३ अर्ब ५७ करोड १० लाख रूपैयाँ निक्षेप संकलन गरी ४२ खर्ब ३९ अर्ब १९ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेकोमा एक खर्ब २४ अर्ब ९४ करोड ६० लाख रूपैयाँ गाडी खरिदका लागि ऋण दिएका थिए ।

No description available.

विकास बैंकहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म पाँच खर्ब ७७ अर्ब ४६ करोड ५० लाख रूपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८४ अर्ब ३३ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेकामा हायर पर्चेजका लागि मात्रै १६ अर्ब २५ करोड १७ लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब १२ करोड २० लाख रूपैयाँले कम हो । गतवर्ष मंसिरसम्म विकास बैंकहरूले हायर पर्चेजका लागि २० अर्ब ३७ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले पनि चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म एक खर्ब १६ अर्ब ४० करोड ९० लाख रूपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ७९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेकोमा तीन अर्ब ४० करोड ५० लाख रूपैयाँ हायर पर्जेजका लागि प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६० करोड ७० लाख रूपैयाँले कम हो । गतवर्ष मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूले एक खर्ब छ अर्ब छ करोड ४० लाख रूपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९७ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेज क्षेत्रमा मात्र चार अर्ब एक करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया