Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमन्दीको मारमा बैंकहरू

मन्दीको मारमा बैंकहरू

खराब कर्जा बढ्दा नाफा घट्यो


काठमाडौं । अर्थतन्त्रमा देखिएको मन्दीको असर बैंकहरूको नाफामा परेको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंकको नाफा घटेको छ । अर्थतन्त्र सुस्त हुँदा ऋणीको कर्जा चुक्ता गर्ने क्षमतामा कमी आउँदा खराब कर्जा बढेर गएको छ । खराब कर्जा बढ्दा बैंकहरूले प्रोभिजनिङमा बढी रकम छुट्याउनुपर्दा खुद नाफामा दबाब परेको बैंकरले बताएका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १६ वटाको नाफा घटेको छ । हिमालयन बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकको नाफा बढेको छ भने बाँकी सबै वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।

चालू आर्थिक वर्षकोे पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड २४ लाख ५१ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनाामा नौ दशमलव ९४ प्रतिशत अर्थात् तीन अर्ब १७ करोड ५८ लाख ८५ हजार रूपैयाँले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म बैंकहरूको यस्तो नाफा ३१ अर्ब ९४ करोड ११ लाख २५ हजार रूपैयाँ थियो ।

गतवर्षको तुलनामा नाफा घटे पनि सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । नबिलले तीन अर्ब २० करोड ३० लाख ७९ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको खराब कर्जा तीन दशमलव आठ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिलले तीन अर्ब ४१ करोड ७६ लाख ९८ हजार रूपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव ९८ प्रतिशत खराब कर्जा थियो । प्राइम कमर्सियल बैंकले दुई अर्ब १८ करोड २९ लाख २७ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । यस्तै बैंकको खराब कर्जा चार दशमलव शून्य सात प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राइमले एक अर्ब ६५ करोड २० लाख ४४ हजार रूपैयाँ नाफा कमाउँदा दुई दशमलव ८१ प्रतिशत खराब कर्जा थियो ।

ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई अर्ब चार करोड २३ लाख २९ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । ग्लोबल आईएमईको खराब कर्जा चार दशमलव ६८ प्रतिशत देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ७८ करोड ११ लाख ६५ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जा दुई दशमलव ९२ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया