Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकृषिमा लगानी बढाउन गभर्नरको सुझाव

कृषिमा लगानी बढाउन गभर्नरको सुझाव


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि क्षेत्रमा लगानी बढाएर कृषिजन्य वस्तुको आयात प्रतिस्थापनतर्फ लाग्न कृषि विकास बैंकलाई सुझाव दिएका छन् । कृषि विकास बैंकको ५७औँ वार्षिकोत्सवमा गभर्नर अधिकारीले बैंकले उपलब्ध वित्तीय स्रोत साधनलाई कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनतर्फ केन्द्रित गर्न सुझाव दिए ।

‘कृषि क्षेत्रमा अत्यन्त ठूलो सम्भावना छ । कृषिमा कस्तो आपूर्ति एवम् मूल्य शृङ्खलाको अभाव छ, त्यो कुरा हामी स्पष्टरूपमा देख्न सक्छौँ । यसका लागि बैंकले काम गर्न सक्छ’, उनले भने । बैंकले आगामी दिनमा समेत वित्तीय सेवाबाट विमुख किसान, मजदुर एवं सीमान्तकृतमा बैंकिङ पहुँच विस्तार गर्न गर्न सक्ने उनको भनाइ थियो । नेपाली जनताको घर आँगनको बैंकका रूपमा चिनाउँदै आएको यस बैंकले ग्राहकको सन्तुष्टिमा ध्यान दिँदै वित्तीय सेवाको विविधीकरणमार्फत् उद्देश्य हासिल गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसीले कृषि विकास बैंकले दिगो बैंकिङको अभ्यास गरिरहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई अगाडि बढाउन सरकारसँगै बैंकिङ प्रणाली पनि तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बैंकको सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले विश्व र देशको अर्थतन्त्र शिथिल रहेको अवस्थामा समेत बैंकले कारोबार विस्तार गर्न सफल भएको बताए । बैकिङ क्षेत्रमा आउन सक्ने प्रणालीगत जोखिमलाई समेत कुशलतापूर्वक व्यवस्थापन गर्न बैंक सक्षम रहेको उनको दाबी थियो । गरिबी निवारण, साना किसान विकास कार्यक्रम, ग्रामीण र कृषि क्षेत्रको विकास, दुर्गम विपन्न वर्गलाई लघुवित्त सेवा प्रदानलगायतमा विशेष भूमिका निर्वाह गर्दै आएको उनले बताए ।

बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद र दुई प्रतिशत बोनस सेयर गरी १३ प्रतिशत लाभांश दिएको छ । वार्षिकोत्सवकै अवसरमा बैंकले ओभरड्राफट डेबिट कार्ड र कल सेन्टरको सुरुवात गरेको छ । बैंकको गत आवको सञ्चालन नाफा चार अर्ब ८२ करोड ७१ लाख २० हजार रुपैयाँ थियो । बैंकले सो आवमा एक खर्ब ९९ अर्ब ६६ करोड २० लाख ३० हजार रुपैयाँ निक्षेप र एक खर्ब ८२ अर्ब ८१ करोड ५० लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको गत आवमा खराब कर्जा दुई दशमलव ७८ प्रतिशत थियो । बैंकको जारी तथा चुक्ता पुँजी १८ अर्ब ६२ करोड छ लाख २७ हजार रुपैयाँ छ । बैंकमा सरकारको ५१ प्रतिशत सेयर स्वामित्व छ । विक्रम संवत् २०४१ सालमा स्थापना भएको यस बैंकले वित्तीय सेवा, कृषक, उद्यमीलाई ऋण प्रवाह गर्दै आएको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

ताजा अपडेट