Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघट्दै बैंकहरूको आधार दर

घट्दै बैंकहरूको आधार दर


काठमाडौं । अहिले बैंकिङ प्रणालीमा अधिक तरलता छ । राष्ट्र बैंकले अधिक तरलता नियन्त्रण गर्न लगातार निक्षेप संकलन गरिरहेको छ । निक्षेपको तुलनामा कर्जा प्रवाह न्यून देखिन्छ । बैंकहरूले कर्जाको माग बढ्न नसकेको बताउँदै आएका छन् । निक्षेप सहज बन्दै गएपछि बैंकहरूले ब्याजदर पनि घटाउँदै लगेका छन् । सबै बैंकले निक्षेपको ब्याजदर एकल विन्दुमा झारिसकेका छन् । निक्षेपको ब्याजदर घट्दा आधार दर पनि घट्दै गएको छ ।

दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार १७ वटा वाणिज्य बैंकको आधार दर एकल विन्दुमा झरेको छ । तीनवटा बैंकको आधार दर अझै दोहोरो अंकमा छ ।

एक वर्षअघिको तुलनामा अहिले वाणिज्य बैंकहरूको आधार दर एक दशमलव ३३ प्रतिशत विन्दुले घटेको छ । गतवर्ष पुस मसान्तमा बैंकहरूको औसत आधार दर १० दशमलव ७७ प्रतिशत थियो । अहिले औसत आधार दर नौ दशमलमव ४४ प्रतिशत छ ।

असोज महिनादेखि आधार दर क्रमशः घट्दै गएको देखिन्छ । गतवर्ष बैंकहरूले निक्षेपमा उच्च ब्याज दिएका थिए । त्यही कारण आधार दर पनि आकाशिएको थियो । ब्याजदर महँगो हुँदा धेरै ऋणी अप्ठ्यारोमा परेका थिए । ऋण तिर्न नसक्दा कालोसूचीमा पर्नेको संख्या पनि उच्च थियो । अहिले निक्षेप तीव्ररूपमा बढिरहेको छ । यही कारण बैंकहरूले ब्याजदर घटाएका छन् । तर, कर्जाको माग न्यून छ । निक्षेप बढ्दै जाने तर कर्जाको माग न्यून भएपछि ब्याज लागत महँगो भएको बैंकहरूको भनाइ छ । लागत घट्न नसक्दा ऋणीले राहत महसुस गर्नेगरी आधार दर घट्न नसकेको बैंकर बताउँछन् ।

आधार दरमा निश्चित प्रतिशित प्रिमियम थपेर बैंकहरूले ऋणको ब्याजदर निर्धारण गर्छन् । आधार दर सस्तो भए मात्रै कर्जाको ब्याजदर पनि सस्तो हुन्छ । बैंकहरूले केही क्षेत्रमा एकल विन्दु ब्याजदरमा कर्जा उपलब्ध गराए पनि तुलनात्मकरूपमा अझै पनि ब्याज महँगो भएको उद्योगीहरू बताउँछन् । बजारमा आर्थिक मन्दी अझै नसकिएको र उपभोग बढ्न नसक्दा लगानी खुुम्चिएकाले कर्जाको माग बढ्न सकेको छैन । बरु मानिसहरूले निक्षेप राखेर ब्याज खान सुरक्षित मानिरहेका छन् । यही कारण निक्षेप तीव्र बढिरहेको छ ।

ब्याजदर घट्दै गएको भए पनि केही बैंकको आधार दर अझै पनि दोहोरो अंकमा छ । हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र कुमारी बैंकको आधार दर दोहोरो अंकमा छ । हिमायलन बैंकको आधार दर पुस मसान्तमा १० दशमलव ५९ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव २७ प्रतिशत विन्दुले कम हो । गतवर्ष पुस मसान्तमा हिमालयनको आधार दर १० दशमलव ८६ प्रतिशत थियो ।

यस्तै, प्राइम कमर्सियल बैंकको आधार दर १० दशमलव ३८ प्रतिशत छ । गतवर्ष पुस मसान्तमा प्राइमको आधार दर ११ दशमलव ३४ प्रतिशत थियो । कुमारी बैंकको आधार दर १० दशमलव २८ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा एक दशमलव ४५ प्रतिशत विन्दुले कम हो । गतवर्ष पुसमा कुमारी बैंकको आधार दर ११ दशमलव ७३ प्रतिशत थियो ।

सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्डको छ । यो बैंकको आधार दर सात दशमलव ५६ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा दुई दशमलव ११ प्रतिशत विन्दुले कम हो । गतवर्ष पुस मसान्तमा स्टान्डर्ड चार्टर्डको आधार दर नौ दशमलव ६७ प्रतिशत थियो । कम आधार दर हुने दोस्रो बैंक राष्ट्रिय वाणिज्य बैंक हो । यो बैंकको आधार दर सात दशमलव नौ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा एक दशमलव ८३ प्रतिशत विन्दुले कम हो । गतवर्ष पुसमा राष्ट्रिय वाणिज्य बैंकको आधार दर नौ दशमलव ७३ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया