Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरजग्गामा बैंकहरूको साढे दुई खर्ब ऋण

घरजग्गामा बैंकहरूको साढे दुई खर्ब ऋण


काठमाडौं । घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले दुई खर्ब ४४ अर्ब रूपैयाँ कर्जा लगानी गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा र आवासका लागि सो रकम ऋण लगानी गरेका हुन् ।

घरजग्गा क्षेत्रमा प्रवाह भएको यो ऋण एक वर्षअघिको तुलनामा साढे नौ प्रतिशत बढी हो । एक वर्षमा बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा २१ अर्ब २६ करोड ७० लाख रूपैयाँ ऋण थपेका छन् । गतवर्ष मंसिरमा घरजग्गा क्षेत्रमा दुई खर्ब २२ अर्ब ९६ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले यसवर्ष मंसिर मसान्तसम्म घरजग्गा क्षेत्रमा दुई खर्ब ११ अर्ब २३ करोड रूपैयाँ ऋण लगानी गरेका छन् । यो ऋण एक वर्षअघिको तुलनामा नौ दशमलव १८ प्रतिशतले बढी हो । एक वर्षमा वाणिज्य बैंकहरूले १९ अर्ब ४० करोड ६० लाख रूपैयाँबराबरको नयाँ ऋण घरजग्गा क्षेत्रमा थपेका छन् । गतवर्ष मंसिर मसान्तमा वाणिज्य बैंकहरूले एक खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रूपैयाँ ऋण घरजग्गा क्षेत्रमा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले यसवर्षको मंसिर मसान्तसम्म घरजग्गा क्षेत्रमा २३ अर्ब ४१ करोड ५० लाख रूपैयाँ ऋण लगानी गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १० दशमलव ४२ प्रतिशत अर्थात् दुई अर्ब २१ करेड ८० लाख रूपैयाँले बढी हो । गतवर्ष मंसिर मसान्तमा विकास बैंकहरूले घरजग्गा क्षेत्रमा २१ अर्ब १९ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म घरजग्गा क्षेत्रमा नौ अर्ब ५८ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ५२ प्रतिशत अर्थात् ३५ करोड रूपैयाँले कम हो । गतवर्ष मंसिर मसान्तसम्म फाइनान्स कम्पनीहरूले घरजग्गा क्षेत्रमा नौ अबै ९४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गतवर्ष चर्को ब्याजदर, लगानीयोग्य रकमको अभाव, केन्द्रीय बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा गरेको कडाइका कारण कर्जाको माग घट्दै गएको थियो । राष्ट्र बैंकले घरकर्जामा एक सय ५० प्रतिशत जोखिमभार लगाएको थियो । अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह भएको भन्दै सेयर कर्जा, घरकर्जा, सवारीसाधन कर्जामा जोखिमभार बढाएको थियो । जसले गर्दा यी क्षेत्रमा कर्जा प्रवाह कम भएको थियो । यद्यपि पछिल्लो समय केन्द्रीय बैंकले नीतिगत लचकता अपनाएपछि घरजग्गा कर्जा बढेको तथ्यांकमा देखिन्छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रूपैयाँबाट बढाएर दुई करोड रूपैयाँ पुर्याएको छ । यस्तै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत घरजग्गा कर्जाको जोखिमभार एक सय ५० प्रतिशतबाट घटाई एक सय २५ प्रतिशतमा झारेको छ । यस्तै ५० लाख रूपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरेको छ ।

यिनै नीतिगत सहजताका कारण अहिले बैंकहरूले घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउँदै लगेको देखिन्छ । यद्यपि फाइनान्स कम्पनीहरूले भने घरजग्गामा ऋण प्रवाह बढाउन सकेका छैनन् । कर्जाको माग न्यून भए पनि एक वर्षमा कर्जाको आकार २१ अर्ब रूपैयाँले बढ्नुलाई राम्रै मान्नुपर्ने बैंकहरू बताउँछन् । पछिल्लो समय राष्ट्र बैंकले नीतिगत लचकता अपनाएको, ब्याजदर घट्दै गएको र लगानीयोग्य रकम पर्याप्त भएका कारण बैंकहरूले घरजग्गा खरिदमा ऋण लगानी बढाउँदै लगेका हुन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया