Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ क्षेत्रको निक्षेप ६१ खर्ब ४८ अर्ब

बैंकिङ क्षेत्रको निक्षेप ६१ खर्ब ४८ अर्ब

संस्थागत निक्षेपको अंश साढे ३६ प्रतिशत


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । यस्तै बैंकहरूले प्रवाह गरेको कुल कर्जा रकम ५० खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मात्रै ५४ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ४५ खर्ब एक अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब नौ अर्ब रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभित्र रहेर कर्जा लगानी गर्न पाउँछन् । केन्द्रीय बैंकका अनुसार अहिले सीडी रेसियो ८० दशमलव ३५ प्रतिशत छ । यस आधारमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको नौ दशमलव ६५ प्रतिशत थप ऋण प्रवाह गर्नसक्ने ठाउँ छ । यो आधारमा हेर्दा बैंकिङ प्रणालीमा चार खर्ब ७४ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा बैंकिङ क्षेत्रको निक्षेप छ दशमलव छ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको निक्षेप चार दशमलव दुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव नौ प्रतिशतले बढेको देखिन्छ । माघ महिनामा पनि निक्षेप बढ्दै गएको देखिन्छ । यद्यपि माघको अन्तिम साता भने निक्षेप केही घटेको छ । माघ २३ गते ६१ खर्ब ५३ अर्ब रहेको निक्षेप २५ गते घटेर ६१ खर्ब ४८ अर्बमा झरेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव आठ प्रतिशत, २६ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौै प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव छ प्रतिशत र ६० दशमलव ३० प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको छ महिनामा निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशतले बढेको छ । एक वर्षअघि कर्जाको वृद्धिदर तीन प्रतिशत थियो । वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव छ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव नौ प्रतिशत र ३५ दशमलव एक प्रतिशत थियो ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार प्रतिशत, विकास बैंकहरूको चार दशमलव चार प्रतिशत र फाइनान्स कम्पनीहरूको कर्जा दुई दशमलव चार प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव चार प्रतिशत चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणको रूपमा छ भने ६७ दशमलव सात प्रतिशत कर्जामा घर जग्गा धितो सुरक्षण छ ।

चालू आर्थिक वर्षको छ महिनामा कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा एक दशमलव एक प्रतिशतले बढेको छ । यस्तै, औद्योगिक उत्पादन क्षेत्रतर्फ आठ प्रतिशत, निर्माण क्षेत्रतर्फ चार दशमलव एक प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १० दशमलव छ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ दुई प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ चार दशमलव पाँच प्रतिशत र उपभोग्य क्षेत्रतर्फ सात प्रतिशत कर्जा बढेको छ । यसबाहेक आवधिक कर्जा १३ दशमलव दुई प्रतिशत, नगद प्रवाह कर्जा २७ दशमलव पाँच प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा पाँच दशमलव आठ प्रतिशत, रियल स्टेट कर्जा चार दशमलव सात प्रतिशत र मार्जिन प्रकृतिको कर्जा १० दशमलव पाँच प्रतिशतले बढेको छ । यस्तै अधिविकर्ष कर्जा ४१ प्रतिशत र हायर पर्चेज कर्जा १९ दशमलव नौ प्रतिशतले घटेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया