Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकविरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न माग

बैंकविरुद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न माग


काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चार वटा संगठनले बैंकिङ क्षेत्रलाई खलबलाउने गतिविधि भइरहेको र समाजिक सञ्जालमा प्रेषित गरिएका भ्रामक र गलत अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रामक प्रचार गर्नेविरुद्ध कारबाही गर्न माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘आम–सर्वसाधारणहरूलाई त्रसित पार्ने, समाज खल्बलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न समेत सरकारी निकायलाई आग्रह गर्दछौँ ।’

बैंक तथा वित्तीय संस्थाहरूमा पाँच करोड ३५ लाखभन्दा धेरै निक्षेप खाताहरू र १८ लाखभन्दा धेरै कर्जा खाताहरू सञ्चालनमा रहेको र देशका ५४ वटा बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धेरै निक्षेप संकलन तथा लगभग कुल ग्रार्हस्थ उत्पादन बराबरको कर्जा प्रवाह तथा अन्य बैंकिङ सेवाहरू आफ्ना छ हजार चार सय ४१ शाखामार्फत देशभर प्रदान गर्दै आइरहेकोे विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, देशको दूर–दराजमा गई ५७ वटा लघुवित्त संस्थाहरूले २८ लाखभन्दा धेरै स–साना ऋणीहरूलाई चार खर्बभन्दा धेरै ऋण प्रवाह गरी आर्थिक रूपान्तरणमा अहम् भूमिका खेलेको विज्ञप्तिमा उल्लेख छ ।

सबै संस्थाहरूले ८२ हजारभन्दा धेरै कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिइरहेका छन् । आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरूले नेपाल सरकारलाई ३१ अर्बभन्दा धेरै राजस्व बुझाउनुका साथै संस्थागत सामाजिक उत्तरदायित्वबमोजिम बैंक तथा वित्तीय क्षेत्रहरूले ७७ करोडभन्दा धेरै विविध सामाजिक कार्यहरूमा खर्च गरेको उल्लेख गरेका छन् ।

अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्तलाई आत्मसात गर्दै नेपाल राष्ट्र बैंकले तोकेको नीतिगत व्यवस्थाहरूको पालना गर्दै, नेपालको बैंकिङ क्षेत्र उदाहरणको रूपमा स्थापित भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको सूक्ष्म निगरानी र सोको नीति नियमहरूको अधीनमा रहेर प्रत्येक त्रैमासमा वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकिङ क्षेत्र पारदर्शी मात्र नभई सुपरीवेक्षणीय दृष्टिकोणले समेत अब्बल रहेको छ । नेपालका बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरूमा जोखिम बहन गर्ने क्षमता भएको र आजको दिनमा यी संस्थाहरू सुरक्षित रहेको दाबी चारवटै संस्थाले गरेका छन् ।

सम्बन्धित सबै बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपकर्ताहरूको रकम पूर्णरूपमा सुरक्षित रहेको र नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको पाँच लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षण गरिएको बताएका छन् ।

बेला–बखतमा सामाजिक सञ्जालमा देखिने आधारहीन, गलत तथा भ्रामक टिप्पणीहरूमा ध्यान नदिनु हुन र सम्बन्धित सरोकार निकायहरूले सम्प्रेषण गरेको सूचना र समाचारलाई मात्र आधिकारिकरूपमा लिन अनुरोध गरेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया