Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकिङ निक्षेप ६१ खर्ब ६० अर्ब करिब ६८ प्रतिशत कर्जाको धितो घरजग्गा

बैंकिङ निक्षेप ६१ खर्ब ६० अर्ब करिब ६८ प्रतिशत कर्जाको धितो घरजग्गा


काठमाडौँ  । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ६१ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन १५ गतेसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनी गरी कुल ५४ वटा वित्तीय संस्थाले सो रकम निक्षेप संकलन गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जा यस अवधिमा ५० खर्ब ८७ अर्ब रूपैयाँ छ । वाणिज्य बैंकहरूले मात्रै ५४ खर्ब ४८ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ४५ खर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंक र फाइनान्स कम्पनीहरूले सात खर्ब १२ अर्ब रूपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ८७ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पछिल्लो एक वर्ष (२०७९ माघ देखि २०८० पुस मसान्तसम्म)मा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप छ दशमलव छ प्रतिशत अर्थात् तीन खर्ब खर्ब ७७ अर्ब सात करोड रूपैयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार दशमलव दुई प्रतिशत अर्थात् दुई खर्ब १५ अर्ब १४ करोड रूपैयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप १४ दशमलव नौ प्रतिशतले बढेको छ ।

गत पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव आठ प्रतिशत, २६ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव छ प्रतिशत र ६० दशमलव तीन प्रतिशत थियो । चालू आर्थिक वर्षको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत नै थियो । बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक वर्षमा चार प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब ६४ करोड रूपैयाँले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा यस्तो कर्जा तीन प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ३३ करोड रूपैयाँले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा चालू आर्थिक वर्षको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा चार दशमलव नौ प्रतिशतले बढेको छ । गत पुस मसान्तमा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव आठ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव नौ प्रतिशत र ३५ दशमलव एक प्रतिशत थियो ।

चालू अर्थिक वर्षको पुस मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह चार प्रतिशतले, विकास बैंकहरूको चार दशमलव चार प्रतिशतले र फाइनान्स कम्पनीहरूको कर्जा प्रवाह दुई दशमलव चार प्रतिशतले बढेको छ । यसैगरी चालू आर्थिक वर्षको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ११ दशमलव चार प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणको रूपमा रहेको छ भने ६७ दशमलव सात प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको देखिन्छ । २०७९ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव एक प्रतिशत र ६७ दशमलव दुई प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा एक दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा चार दशमलव एक प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव पाँच प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा सात प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३ दशमलव दुई प्रतिशतले, नगद प्रवाह कर्जा २७ दशमलव पाँच प्रतिशतले, ट्रस्ट रिसिट अर्थात् आयात कर्जा पाँच दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा अर्थात् व्यक्तिगत आवासीय घर कर्जा समेत चार दशमलव सात प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १० दशमलव पाँच प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुुसार अधिविकर्ष कर्जा ४१ प्रतिशतले घटेको छ भने हायर पर्चेज कर्जा १९ दशमलव नौ प्रतिशतले घटेको छ ।

१३ अर्ब पुरानो ऋण नवीकरण गर्दै सरकार
सरकारले आज १३ अर्बभन्दा बढी पुरानो ऋण नवीकरण गर्न लागेको छ । नेपाल राष्ट्र बैंकमार्फत ट्रेजरी बिल बिक्री गरी उठाएको ऋण फेरि नवीकरण गर्न लागेको हो । राष्ट्र बैंकले फगुन २१ गते सोमबार (आज) १३ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

केन्द्रीय बैंकका अनुसार आज अपराह्न दुई बजेसम्म बोलकबोलका माध्यमद्वारा टे«जरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही फागुन १४ गते पनि राष्ट्र बैंकले १२ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

फागुन २२ गतेदेखि जारी हुने ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले आवेदन दिन पाउनेछन् । बिक्री गरिने ट्रेजरीहरु ९१ दिन र एक सय ८२ दिन अवधिका छन् । ९१ दिन अवधिको छ अर्ब चार करोड पाँच लाख रुपैयाँ र एक सय ८२ दिन अवधिको सात अर्ब रुपैयाँको छ । जसमध्ये ९१ दिन अवधिको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०८१ जेठ २२ गते र तोकिएको छ भने एक सय ८२ दिन अवधिको ट्रेजरीको परिपक्व हुने अवधि २०८१ भदौ १८ गते तोकिएको छ ।

यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको पाँच अर्ब र तीन सय ६४ दिन अवधिको सात अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया