Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक प्रकरण: किन अनुसन्धान हुँदैन कर्जा दिन दबाब दिने बैंकका सञ्चालकहरूमाथि ?

सेञ्चुरी बैंक प्रकरण: किन अनुसन्धान हुँदैन कर्जा दिन दबाब दिने बैंकका सञ्चालकहरूमाथि ?


काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको अभियोगमा यही फागुन १५ गते बैंकका दुई प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित ११ जनालाई पक्राउ गर्यो ।

पक्राउ पर्ने बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, सुशिल प्रधान र सन्ध्या श्रेष्ठ छन् । पक्राउ परेका सबै अभियुक्तउपर सीआईबीले सोही दिन नै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट सात दिनको लागि म्याद थप गरेको थियो ।

सीआईबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन सेञ्चुरी बैंकसँग सम्बन्धित आधा दर्जन व्यक्तिलाई पक्राउ गर्नुको प्रमुख कारण थियो, धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्नता देखिनु । सेञ्चुरी बैंकले हाल पुर्पक्षका लागि थुनामा रहेका ललितपुर सातदोबाटोमा केन्द्रीय कार्यलय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईको संलग्नतामा खोलिएका पूजा ट्रेडिङ एन्ड मार्केट्स लिमिटेड, थ्रि ब्रर्दस मार्केटिङ लिमिटेड, पूजा मार्केटिङ लिमिटेड र अन्नपूर्ण डिस्ट्रिलरी प्रालिलाई धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको देखिएको थियो ।

सीआईबी प्रमुख बज्राचार्यका अनुसार सेञ्चुरीको यो समूहले देउराली सहकारीसँग सम्बन्धित कम्पनीहरूलाई कर्जा प्रवाह गर्दा एक अर्ब १४ करोड २३ लाख ८४ हजार दुई सय ५८ रूपैयाँ धितो मूल्यांकन गरिएको भए पनि सोभन्दा बढी अर्थात् दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार सात सय ३१ रूपैयाँ कर्जा प्रवाह गरेको देखिएको थियो । यसबाट धितो मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रूपैयाँ अधिक कर्जा प्रवाह भएकोे देखिन्छ ।

‘धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह भएको देखिएपछि हामीले तत्कालीन सेञ्चुरीका ११ जना अभियुक्तहरूलाई पक्राउ गरेका हौँ’, सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘अहिले हामी अनुसन्धानकै क्रममा छौँ, अनुसन्धानको क्रममा अन्य व्यक्तिहरूको पनि संलग्ता देखिए ती व्यक्तिहरूलाई पनि पक्राउ गर्छौँ, अहिले नै को–को व्यक्ति संलग्न हुन सक्छन्, अनुसन्धानकै क्रममा रहेकाले तत्काल भन्नसक्ने अवस्था छैन ।’

स्रोतका अनुसार धितो मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गराउनमा बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठले दबाब दिएका थिए । ‘श्रेष्ठकै जोडबोलमा उक्त कर्जा प्रवाह भएको हो’, बैंक स्रोतले भनेको छ ।

कर्जा प्रवाह भएको बेला बैंक सञ्चालक समितिमा राजेशकुमार श्रेष्ठसहित लक्ष्मणकुमार श्रेष्ठ, उमाकुमारी श्रेष्ठ, राजेशराज दली, महेशकुमार अग्रवाल, सुनिलकुमार न्यौपाने, अभिशेक बज्राचार्य र अनुजमणि तिमिल्सिना थिए । विभिन्न विवादमा मुछिएका बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत जीवनकुमार भट्टराई भने अहिले सम्पर्कविहीन छन् । बैंक स्रोतका अनुसार भट्टराई हाल अमेरिकामा बस्दै आएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया