Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपुन: ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बिक्री आज

पुन: ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बिक्री आज

बैंकिङ क्षेत्रमा अधिक तरलताको असर


काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले ६१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अद्यावधिक गरेको बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जासम्बन्धी पछिल्लो विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५४ वटा बैंक तथा फाइनान्स कम्पनीहरूमा यो परिमाणमा निक्षेप रहेको हो ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा रहेको कुल निक्षेपमध्येमा वाणिज्य बैंकहरूमा मात्र रहेको कुल निक्षेप ५४ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूमा रहेको कुल निक्षेप सात खर्ब १६ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम भने ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये वाणिज्य बैंकहरूको मात्र कुल कर्जा रकम ४४ खर्ब एक अर्ब रुपैयाँ रहेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको कुल कर्जा रकम पाँच खर्ब ८७ अर्ब रुपैयाँ रहेको छ । निक्षेप र कर्जाको बीचमा बैंकिङ क्षेत्रमा अहिले झण्डै १० खर्ब ८३ अर्ब रुपैयाँको फरक रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको निक्षेप र कर्जाबीचको अनुपात अर्थात् सीडी रेसियो भने ८० दशमलव शून्य दुई प्रतिशत रहेको छ । यो अवधिमा अहिले बैंकिङ क्षेत्र अझै छ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्नसक्ने अवस्थामा रहेको छ । तर, अहिले अर्थतन्त्रमा आएको संकुचनकै कारण कर्जाको माग नहुँदा क्षमता भएर पनि कर्जा दिनसक्ने अवस्थामा छैनन् । यसो भन्नुको अर्थ बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता रहेको छ ।

बैंकिङ प्रणालीमा भएको यही अधिक तरलतालाई नियन्त्रणमा राख्नको लागि राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बिक्री गर्नै भएको छ । राष्ट्र बैंकका अनुसार बिहीबार अपराह्न ३ बजेसम्ममा अल्पकालीन अर्थात् १४ दिनको अवधि तोकेर बोलकबोलको माध्यमद्वारा उक्त परिमाणमा मौद्रिक उपकरण बिक्री गरिएको हो । निष्काशन मिति विसं २०८० फागुन २४ गते तोकिएको निक्षेप संकलन उपकरणको साँवाब्याज भुक्तानी मिति २०८० चैत्र आठ गते तोकिएको छ । राष्ट्र« बैंकका अनुसार वाणज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको लागि यो मौद्रिक उपकरण बिक्री गरिएको हो ।

खरिदकर्ताहरूले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था गरिएको थियो । सोही व्यवस्थाअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले यो मौद्रिक उपकरण खरिद गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।

निक्षेप संकलन बोलकबोल भनेको के हो ?
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक उपकरण हो ।

यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरीकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया