Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गर्न स्वीकृति


काठमाडौं, जेठ २२
मेगा बैंक नेपाल लिमिटेडको विशेष साधारणसभाले गण्डकी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बुधबार काठमाडौँंमा भएको विशेष सभामा मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोजबहादुर शाहले गण्डकी विकास बैंकलाई प्राप्ति गर्नका लागि गरेकोे प्रस्ताव पारित भएको हो । मेगा बैंक र गण्डकी विकास बैंकको सेयर आदान प्रदान अनुपात एक बराबर एक रहेको छ । यो प्राप्तिपश्चात् मेगाको पुँजी, व्यवसायको आकारका साथै शाखा सञ्चालनमा बृहत् वृद्धि भई देशकै एक ठूलो ‘क’ वर्गको वाणिज्य बैंकको रूपमा स्थापित हुने मेगा बैंकका अध्यक्ष शाहले बताए ।

साधारण सभामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले उत्कृष्ट व्यवसाय गरिरहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरेपछि मेगा बैंकको स्तर अभैm बढ्ने बताइन् । ग्राहकको विश्वास जित्दै प्रतिष्ठित ‘बैंक अफ दि एयर’ पुरस्कारबाट समेत सम्मानित भएको स्मरण गर्दै उनले मेगा बैंकको शाखा सञ्जाल प्राप्तिपश्चात् ५८ वटा जिल्लामा फैलने जानकारी दिइन् । यसैगरी, देशका २७ वटा ‘क’ वर्गका वाणिज्य बैंकमध्ये मेगा बैंक निक्षेपका आधारमा ११ औं स्थान, कर्जाका आधारमा १२औं र मुनाफाका आधारमा ११औं स्थानमा रहने प्रमुुख कार्यकारी खुुञ्जेलीले जानकारी दिइन् ।

उनका अनुसार, गण्डकीलाई प्राप्ति गरेपछि मेगा बैंकको चुक्ता पुँजी १३ अर्ब १३ करोड हुनेछ भने निक्षेप एक खर्ब २५ अर्बभन्दा बढी र कर्जा एक खर्ब नौ अर्बभन्दा बढी हुने भएको छ । यसैगरी, मेगा बैंकको ग्राहक संख्या करिब ११ लाख हुनेछ भने शाखा संख्या दुुई सय छ वटा, एक्सटेन्शन काउन्टर ३० वटा, एटीएम एक सय ४२ वटा हुनेछन् ।

यसै बीच, पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकको पनि बुधबारकै दिन सम्पन्न विशेष साधारण सभाले समेत गण्डकीलाई मेगा बैंकले प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । गण्डकी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष शुशील गौचनले यस प्राप्तिका लागि पेश गर्नुभएको प्रस्तावलाई विशेष साधारणसभाले पारित गरेको हो । ९६ वटा शाखा सञ्जाल रहेको गण्डकी विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ७५ करोड रहेको छ ।

दुवै बैंकको विशेष साधारणसभाले स्वीकृति दिएसँगै मेगा बैंकलाई गण्डकी विकास बैंक प्राप्ति गर्नका लागि बाटो खुलेको छ । यसै आर्थिक वर्षभित्रमा गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्नेगरी तयारीहरू भइरहेको मेगा बैंकका अध्यक्ष शाहले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया