Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकर्जाको माग न्यून

कर्जाको माग न्यून


काठमाडौं । बैंकिङ प्रणालीमा निक्षेप बढेको छ तर निक्षेपको तुलनामा कर्जा प्रवाह निकै कम छ । यही कारण प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार अहिले वित्तीय प्रणालीमा करिब साढे पाँच खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । ब्याजदर घटे पनि बजार चलायमान बन्न नसक्दा कर्जाको माग बढ्न नसकेको बैंकरले बताउँदै आएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप सात दशमलव २६ प्रतिशत अर्थात् चार खर्ब ३५ अर्ब ८७ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निक्षेप पाँच दशमलव पाँच प्रतिशत अर्थात् दुई खर्ब ८० अर्ब ५७ करोड रुपैयाँले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १४ दशमलव छ प्रतिशतले बढेको छ । २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव पाँच प्रतिशत, २८ प्रतिशत र ५८ दशमलव सात प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव नौ प्रतिशत, २५ दशमलव सात प्रतिशत र ५९ दशमलव आठ प्रतिशत थियो । चालू आर्थिक वर्षको फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव पाँच प्रतिशत छ । २०७९ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ३६ दशमलव आठ प्रतिशत थियो ।

यस आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार दशमलव दुई प्रतिशत अर्थात् एक खर्ब ९९ अर्ब ५० करोड रुपैयाँले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई दशमलव आठ प्रतिशत अर्थात् एक खर्ब २८ अर्ब १८ करोड रुपैयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा पाँच प्रतिशतले बढेको छ । २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव आठ प्रतिशत छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव छ प्रतिशत र ३५ दशमलव पाँच प्रतिशत थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार दशमलव दुई प्रतिशतले, विकास बैंकहरुको तीन दशमलव पाँच प्रतिशतले र फाइनान्स कम्पनीहरुको कर्जा प्रवाह तीन दशमलव नौ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव सात प्रतिशत कर्जाको लागि चालू सम्पत्ति अर्थात् कृषि तथा गैरकृषिजन्य वस्तु सुरक्षणको रुपमा रहेको छ भने ६७ दशमलव पाँच प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव दुई प्रतिशत र ६७ दशमलव पाँच प्रतिशत थियो ।

आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा शून्य दशमलव तीन प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ दशमलव साात प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा छ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा आठ दशमलव तीन प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ तीन दशमलव दुई प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फ पाँच दशमलव दुई प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा छ प्रतिशत बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १५ दशमलव नौ प्रतिशत, नगद प्रवाह कर्जा २४ दशमलव छ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ११ दशमलव पाँच प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) पाँच दशमलव नौ प्रतिशत र मार्जिन प्रकृतिको कर्जा १२ दशमलव तीन प्रतिशत बढेको छ  । यस अवधिमा अधिकवर्ष कर्जा चार दशमलव तीन प्रतिशत र हायर पर्चेज कर्जा दुई दशमलव सात प्रतिशतले घटेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया