Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमोबाइल बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै बढ्यो

मोबाइल बैंकिङ प्रयोगकर्ता र कारोबार दुवै बढ्यो


काठमाडौं । विद्युतीय भुक्तानीमा सर्वसाधारणको मोह बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको आठ महिनामा विद्युतीय भुक्तानीको प्रयोगकर्ता र रकम दुवै बढेको छ ।

एटीएम, विद्युतीय भुक्तानी प्रणाली, आएपीएस, कनेक्ट आईपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआर कोडलगायतको प्रयोग बढेको हो ।

सबैभन्दा धेरै आकर्षण मोबाइल बैंकिङमा देखिएको छ । पछिल्लो एक वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १८ दशमलव ५३ प्रतिशत बढेको छ । २०७९ फागुनमा दुई करोड ६५ हजार सात सय ६६ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकामा २०८० फागुनमा दुई करोड ३७ लाख ८३ हजार तीन सय ८९ पुगेको छ ।

चालू आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङमार्फत कुल दुई खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार एक वर्षअघिको तुलनामा ५२ दशमलव दुई प्रतिशत बढी हो । गत आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङमार्फत एक खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँ कारोबार भएको थियो । चालू आर्थिक वर्षको आठ महिनामा भएको मोबाइल बैंकिङ कारोबार गत आर्थिक वर्षको कुल कारोबारभन्दा धेरै हो । गत आर्थिक वर्षमा कुल दुई खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ कारोबार भएको थियो ।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पाँच दशमलव ३९ प्रतिशतले बढेको छ । २०७९ फागुनमा १७ लाख ७९ हजार एक सय ३४ प्रयोगकर्ता रहेकामा २०८० फागुनमा १८ लाख ७४ हजार नौ सय ८२ पुगेको छ । इन्टरनेट बैंकिङबाट गत आर्थिक वर्षको फागुन मसान्तसम्म १३ अर्ब ८६ करोड १० लाख रुपैयाँको कारोबार भएकामा यस वर्ष फागुन मसान्तसम्म १४ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ ।

कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या पनि एक वर्षमा १८ दशमलव ४८ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको आठ महिनामा कनेक्ट आईपीएस प्रयोगकर्ता १० लाख ३६ हजार पाँच सय ४९ रहेकामा यस आर्थिक वर्षको आठ महिनामा १२ लाख २८ हजार एक सय ४० पुगेको छ । कनेक्ट आईपीएसमार्फत भएको कारोबार एक वर्षमा ४२ दशमलव एक प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको आठ महिनामा तीन खर्ब ४० अर्ब एक करोड ७० लाख रुपैयाँको कारोबार भएकामा चालू आर्थिक वर्षको आठ महिनामा चार खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो ।

क्यूआर–बेस पेमेन्ट्स गत आर्थिक वर्षको आठ महिनाको तुलनामा दोब्बरभन्दा बढीले बढेको छ । गत आर्थिक वर्षको आठ महिनामा २० अर्ब ७७ करोड ६० लाख रुपैयाँको कारोबार भएकामा चालू आर्थिक वर्षको आठ महिनामा ४२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया