Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखराब कर्जा बढ्दा खुम्चियो बैंकहरूको नाफा

खराब कर्जा बढ्दा खुम्चियो बैंकहरूको नाफा


काठमाडौं । खराब कर्जा बढ्दा वाणिज्य बैंकहरूको खुद मुनाफामा कमी आएको छ । बैंकहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ४० अर्ब ६८ करोड रूपैयाँ नाफा कमाएका छन् । बैंकहरूले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४७ प्रतिशत कम हो । गतवर्ष तेस्रो त्रैमाससम्म बैंकहरूको नाफा ४७ अर्ब एक करोड रूपैयाँ थियो ।

वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै गएकोले खुद मुनाफामा असर परेको देखिन्छ । अहिले बैंकहको खराब कर्जा औसत तीन दशमलव ४५ प्रतिशत छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शून्य दशमलव ५९ प्रतिशत विन्दुले बढी हो । गतवर्ष तेस्रो त्रैमाससम्म बैंकहरूको खराब कर्जा तीन प्रतिशतभन्दा केही बढी थियो । आम्दानी भएकोबाट ठूलो रकम प्रोभिजन गर्नुपर्दा बैंकहरूको नाफामा गिरावट आएको देखिन्छ ।

आर्थिक मन्दी, मूल्यवृद्धि, उपभोगमा कमी आउनु, माग घट्नु, कर्जाको माग न्यून हुनुलगायतका कारण बैंकहरूको नाफा प्रभावित भएको हो । २० वटा वाणिज्य बैंकहरूमध्ये १३ वटाको नाफा एक वर्षअघिको तुलनामा घटेको छ भने सातवटाको केही बढेको छ । कृषि विकास बैंकको नाफा सबैभन्दा धेरै ९७ दशमलव २२ प्रतिशत बढेको छ भने नेपाल बैंकको सबैभन्दा धेरै ९२ दशमलव ६८ प्रतिशत घटेको छ । सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ भने सबैभन्दा कम नेपाल बैंकले कमाएको छ ।

नबिलले चार अर्ब ६६ करोड ८० लाख २९ हजार रूपैयाँ नाफा कमाएकोे छ । नबिल बैंकको खराब कर्जा एक दशमलव २७ प्रतिशत छ । नबिलको नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा भने घटेको छ । गतवर्ष तेस्रो त्रैमासमा नबिलले पाँच अर्ब ११ करोड ६१ लाख ७४ हजार रूपैयाँ कमाएको थियो भने खराब कर्जा एक दशमलव ९८ प्रतिशत थियो । नबिलपछि बढी नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आईएमई बैंक छ । ग्लोबल आईएमईले तीन अर्ब ३० करोड ६५ लाख ५२ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ७४ प्रतिशत छ । गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा ग्लोबलले तीन अर्ब ५९ करोड ५९ लाख ९४ हजार रूपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा तीन दशमलव ९६ प्रतिशत थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तीन अर्ब २७ करोड ५२ लाख ७७ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ६६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले तीन अर्ब चार करोड ६१ लाख २३ हजार रूपैयाँ खुद नाफा कमाएको थियो भने खराब कर्जा तीन दशमलव ९४ प्रतिशत थियो ।

कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले दुई अर्ब रूपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । कृषि विकास बैंकले दुई अर्ब पाँच करोड ३१ लाख ६६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको खराब कर्जा तीन दशमलव ३० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब चार करोड १० लाख ३७ हजार रूपैयाँ नाफा कमाएको थियो भने चार दशमलव दुई प्रतिशत कर्जा खराब थियो । यसैगरी एभरेष्ट बैंकले दुई अर्ब ५० करोड ८४ लाख ६४ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । एभरेष्टको शून्य दशमलव ७० प्रतिशत कर्जा खराब छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ४६ करोड ६० लाख ६४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो भने शून्य दशमलव ७० प्रतिशत कर्जा खराब कर्जा थियो । प्राइम कमर्सियल बैंकले दुई अर्ब ८७ करोड ८७ लाख ४६ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । प्राइमको खराब कर्जा चार दशमलव २९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा प्राइमले दुई अर्ब ४६ करोड ७५ लाख ५६ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने तीन दशमलव शून्य छ प्रतिशत कर्जा खराब थियो ।

स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४४ करोड ७१ लाख १२ हजार रूपैयाँ खुद मुनाफा कमाउँदा दुई दशमलव १४ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब ६१ करोड ८७ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने शून्य दशमलव ९० प्रतिशत खराब कर्जा थियो । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब ३७ करोड ४८ लाख २३ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ३० प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले तीन अर्ब ५७ करोड ६७ लाख ७४ हजार रूपैयाँ खुद नाफा नाफा कमाएको थियो भने तीन दशमलव ८८ प्रतिशत कर्जा खराब थियो । एनएमबी बैंकले पनि दुई अर्ब २४ करोड १५ लाख ९५ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको खराब कर्जा दुई दशमलव ८६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा एनएमबीले दुई अर्ब ६८ करोड २५ लाख ३२ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने दुई दशमलव ९६ प्रतिशत खराब कर्जा थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको नाफा एक अर्ब रूपैयाँ केही बढी छ । वित्तीय विवरणअनुसार सिटिजन्स बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब २१ करोड १४ लाख १६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको खराब कर्जा तीन दशमलव ७६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैेंकले एक अर्ब २३ करोड ६० लाख ६१ हजार रूपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा तीन दशमलव ९८ प्रतिशत थियो ।

प्रभु बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ८१ करोड २४ लाख ५८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ८१ प्रतिशत छ । गतवर्षको तेस्रो त्रैमासमा प्रभुले एक अर्ब ९५ करोड ४६ लाख २५ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने तीन दशमलव ४८ प्रतिशत खराब कर्जा थियो । कुमारी बैंकले एक अर्ब पाँच करोड २७ लाख ९४ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । बैंकको खराब कर्जा चार दशमलव ९५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३० करोड १६ लाख ५९ हजार रूपैयाँ खुद नाफा कमाएको छ भने तीन दशमलव ९७ प्रतिशत खराब कर्जा थियो ।

हिमालयन बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक अर्ब ९४ करोड ८१ लाख ८१ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ९६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब ७३ करोड ८८ लाख ६२ हजार रूपैयाँ नाफा कमाएको थियो भने चार दशमलव ५६ प्रतिशत खराब कर्जा थियो । एनआईसी एसिया बैंकले एक अर्ब ९१ करोड ४६ लmाख ९१ हजार रूपैयाँ नाफा कमाएको छ । बैंकको खराब कर्जा एक दशमलव ७६ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा एनआईसीले चार अर्ब एक करोड ४९ लाख २४ हजार रूपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा शून्य दशमलव ७४ प्रतिशत थियो । नेपाल एसबीआई बैंकले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म एक अर्ब १६ करोड ४१ लाख ७७ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । बैंकको खराब कर्जा एक दशमलव ९८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ८० करोड ३२ लाख ८५ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जा शून्य दशमलव ९७ प्रतिशत थियो । लक्ष्मी सनराइज बैंकले पनि यस वर्ष तेस्रो त्रैमासमा एक अर्ब ६१ करोड १९ लाख तीन हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको खराब कर्जा पाँच दशमलव ४९ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब २६ करोड ५३ लाख ४५ हजार रूपैयाँ नाफा कमाएको थियो भने एक दशमलव ८२ प्रतिशत खराब कर्जा थियो ।

सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ६८ करोड ४० लाख ९० हजार रूपैयाँ नाफा कमाएको छ । बैंकको खराब कर्जा दुई दशमलव ५२ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा सिद्धार्थले एक अर्ब ४९ करोड एक लाख एक हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जा तीन दशमलव ९५ प्रतिशत थियो । माछापुच्छ्रे बैंकले ८५ करोड ५४ लाख ४६ हजार रूपैयाँ नाफा कमाएको छ । बैंकको खराब कर्जा तीन दशमलव ६८ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा माछापुच्छ्रेले एक अर्ब ३५ करोड १९ लाख ५२ हजार रूपैयाँ नाफा कमाएको थियो भने खराब कर्जा दुई दशमलव २७ प्रतिशत थियो । वाणिज्य बैंकहरूमध्येमा सबैभन्दा कम नाफा नेपाल बैंकले कमाएको छ । बैंकले १३ करोड पाँच लाख नौ हजार एक सय छ रूपैयाँ कमाएको छ । बैंकको खराब कर्जा चार दशमलव ८५ प्रतिशत छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७८ करोड २३ लाख २९ हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो भने खराब कर्जा चार दशमलव १६ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया