Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकका ऋणीलाई ब्याज र नवीकरण शुल्कमा छुट

एनआईसी एसिया बैंकका ऋणीलाई ब्याज र नवीकरण शुल्कमा छुट


काठमाडौं, असार २
एनआईसी एसिया बैंकले आफ्ना कर्जावाला ग्राहकलाई ब्याज र नवीकरण शुल्कमा छुुट दिने भएको छ । बैंकका अनुसार असार मसान्तसम्मको ऋण चुक्ता गरेमा बैंकले उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी नौ दशमलव ९९ प्रतिशत कायम गर्ने जानकारी दिएको छ । राष्ट्र बैंकले निर्दिष्ट गरेको दुुई प्रतिशत ब्याज छुटको अलावा बैंकबाट कर्जा सुविधा लिएका सबै ऋणीहरूले २०७७ असार मसान्तसम्मको सम्पूर्ण सावाँ तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्मा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी नौ दशमलव ९९ प्रतिशत कायम गरिने बैंकले जानकारी दिएको छ ।

साथै, सावाँ तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्जर ब्याज र जरिवाना रकममा समेत शत प्रतिशत मिनाहाको व्यवस्था बैंकले गरेको छ । हाल नौ दशमलव ९९ प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकहरूको हकमा भने विद्यमान व्यवस्था अनुसार नै ब्याजदर कायम रहनेछ । त्यसैगरी, कर्जा नवीकरणको हकमा २०७७ असार मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ असार महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ । बैंकले २०७७ असार महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको २०७६ चैत १६ गतेको निर्देशनको अक्षरशः पालना गरी २०७६ चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गरेका ऋणीहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुनआउने छुट रकम ग्राहकहरूको खातामा वैशाख महिनामै जम्मा गरिसकेको जनाएको छ । त्यसैगरी बैंकले घोषणा गरेको योजनामा सहभागी भई वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता र ब्याज रकम वैशाख मसान्तभित्र पूर्णरूपमा चुक्ता गर्नेे ग्राहकहरूको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुटको रकम जेठ महिनाको पहिलो साताभित्रै सम्बन्धित ग्राहकहरूको खातामा जम्मा गरिसकेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया