Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरुबीच ३८ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार !

बैंकहरुबीच ३८ खर्बभन्दा बढीको अन्तरबैंक कारोबार !


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबीच एक–आपसमा अल्पकालीन अवधिको लागि हुने अन्तरबैंक कारोबार ३८ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो १० महिनामा सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाबीच कुल ३८ खर्ब २१ अर्ब नौ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका हुन् । यो कारोबार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन खर्ब ७९ अर्ब १२ करोड रुपैयाँले बढी हो । गतवर्ष १० महिनामा बैंकहरुबीच ३४ खर्ब ४१ अर्ब ९७ करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार भएको थियो ।

वाणिज्य बैंकहरुले १० महिनामा ३४ खर्ब ७७ अर्ब चार करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन खर्ब २६ अर्ब नौ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको १० महिनामा वाणिज्य बैंकहरुले ३१ खर्ब ५० अर्ब ९५ करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका थिए । यस आर्थिक वर्षको १० महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले तीन खर्ब ४४ अर्ब पाँच करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५३ अर्ब तीन करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको १० महिनामा विकास बैंक र फाइनान्स कम्पनीहरुले दुई खर्ब ९१ अर्ब दुई करोड रुपैयाँबराबर अन्तरबैंक कारोबार गरेका थिए ।

अन्तरबैंक कारोबार बढेपछि यसको असर बैंकिङ क्षेत्रको ब्याजदरमा परेको छ । सोही आधारमा बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २०८० वैशाखमा सात प्रतिशत रहेकोमा २०८१ वैशाखमा दुई दशमलव ८८ प्रतिशतमा झरेको छ ।

वित्तीय प्रणालीमा अधिक तरलताको स्थिति देखापर्दै गएपछि अन्तरबैंक कारोबारबाहेकका शीर्षकको भारित औसत ब्याजदर पनि प्रभावित भएको देखिन्छ । २०८० वैशाखमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमकलव ६६ प्रतिशत रहेकोमा २०८१ वैशाखमा तीन दशमलव शून्य दुई प्रतिशतमा झरेको छ ।

२०८१ वैशाखमा वाणिज्य बैंकहरुको औसत आधार दर आठ दशमलव ३४ प्रतिशत, विकास बैंकहरुको १० दशमलव १५ प्रतिशत र फाइनान्स कम्पनीहरुको ११ दशमलव ६१ प्रतिशत छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरुको औसत आधार दर १० दशमलव २७ प्रतिशत थियो । २०८१ वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ३५ प्रतिशत, विकास बैंकहरुको सात दशमकलव ३१ प्रतिशत र फाइनान्स कम्पनीहरुको आठ दशमलव ५५ प्रतिशत छ । २०८० वैशाखमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर आठ दशमलव शून्य आठ प्रतिशत कायम भएको थियो ।

कर्जाको भारित औसत ब्याजदर २०८१ वैशाखमा वाणिज्य बैंकहरुको १० दशमलव ३४ प्रतिशत, विकास बैंकहरुको ११ दशमलव ८९ प्रतिशत र फाइनान्स कम्पनीहरुको १३ दशमलव ११ प्रतिशत छ । २०८० वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १२ दशमलव ६५ प्रतिशत थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x