Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकहरूले बढाए घरजग्गा कर्जा

बैंकहरूले बढाए घरजग्गा कर्जा

५१ खर्ब रूपैयाँमध्ये छ खर्ब ३८ अर्ब घरजग्गामा प्रवाह


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५१ खर्ब छ अर्ब ३० करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गा क्षेत्रमा मात्रै छ खर्ब ३८ अर्ब ३० करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । दुई करोड रूपैयाँसम्मको कर्जालाई राष्ट्र बैंकले व्यक्तिगत आवास कर्जा शीर्षकमा राखेको छ । बैंकहरूले व्यक्तिगत आवासमा तीन खर्ब ८९ अर्ब ३३ करोड ५० लाख र घरजग्गामा दुई खर्ब ४८ अर्ब ९७ करोड १० लाख रूपैयाँ गरी कुल छ खर्ब ३८ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ अर्ब ८८ करोड ६० लाख रूपैयाँले बढी हो । एक वर्षअघि २०८० वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवासतर्फ तीन खर्ब ४७ अर्ब ८८ करोड ८० लाख रूपैयाँ र घरजग्गातर्फ दुई खर्ब ४२ अर्ब ५३ करोड २० लाख रूपैयाँ गरी कुल पाँच खर्ब ९० अर्ब ४२ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ७४ अर्ब ९२ करोड रूपैयाँ थियो ।

गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा कुल पाँच खर्ब २५ अर्ब ८४ करोड २० लाख रूपैयाँ कर्जा प्र्रवाह गरेका छन् । जसमध्ये व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब १२ अर्ब ६३ करोड ७० लाख रूपैयाँ र घरजग्गामा दुई खर्ब ५१ अर्ब ६४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०८१ वैशाख मसान्तसम्म व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह गरेको पाँच खर्ब २५ अर्ब रूपैयाँ कर्जा एक वर्षअघिको तुलनामा ३३ अर्ब ४२ करोड ८० लाख रूपैयाँले बढी हो । २०८० वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ८१ अर्ब १५ करोड ९० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा दुई खर्ब ११ अर्ब २५ करोड ५० लाख रूपैयाँ गरी कुल चार खर्ब ९२ अर्ब ४१ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले यस आर्थिक वर्षको वैशाख महिनासम्म ४५ खर्ब ११ अर्ब १० करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि २०८० वैशाखसम्म ४३ खर्ब २० अर्ब २१ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले गत वैशाखसम्म व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा कुल ८९ अर्ब २१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले व्यक्तिगत आवासतर्फ ६४ अर्ब चार करोड ६० लाख रूपैयाँ र घरजग्गातर्फ २५ अर्ब १६ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वैशाखसम्म विकास बैंकहरूले प्रवाह गरेको कुल कर्जा चार खर्ब ९६ अर्ब ५४ करोड ३० लाख रूपैयाँ छ । विकास बैंकहरूले गत वैशाखसम्म व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा एक वर्षअघिको तुलनामा १२ अर्ब ७२ करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष २०८० वैशाखसम्म विकास बैंकहरूले चार खर्ब ६२ अर्ब नौ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमध्ये व्यक्तिगत आवास शीर्षकमा ५५ अर्ब २८ करोड ३० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा २१ अर्ब २० करोड ४० लाख रूपैयाँ गरी कुल ७६ अर्ब ४८ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

फाइनान्स कम्पनीहरूले गत वैशाखसम्म ९८ अर्ब ६५ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये व्यक्तिगत आवासमा १२ अर्ब ६५ करोड २० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा १० अर्ब ६० करोड २० लाख रूपैयाँ गरी २३ अर्ब २५ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

एक वर्षअघिको तुलनामा फाइनान्स कम्पनीहरूले अहिले एक अर्ब ७३ करोड ६० लाख रूपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि २०८० वैशाखसम्म फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६० करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । यसमध्ये व्यक्तिगत आवासमा ११ अर्ब ४४ करोड ५० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा १० अर्ब सात करोड ३० लाख रूपैयाँ गरी कुल २१ अर्ब ५१ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x