Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसुनचाँदी धितोमा आधा खर्बभन्दा बढी कर्जा प्रवाह

सुनचाँदी धितोमा आधा खर्बभन्दा बढी कर्जा प्रवाह


काठमाडौं । सुनचाँदी धितोमा बैंक तथा वित्तीय संस्थाहरूले आधा खर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको यही वैशाख मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा संस्थाहरूले सुनचाँदी धितोमा ५५ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा एक वर्षअघिको तुलनामा तीन अर्ब ४९ करोड ४० लाख रुपैयाँ बढी हो । गत आर्थिक वर्षको वैशाख मसान्तमा बैंकिङ क्षेत्रको यस्तो कर्जा ५२ अर्ब २३ करोड ६० लाख रुपैयाँ थियो ।

वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थासँग कुल निक्षेप ६१ खर्ब ९० अर्ब एक करोड रुपैयाँ र कुल कर्जा प्रवाह ५१ खर्ब छ अर्ब ३० करोड रुपैयाँ थियो । यसमध्ये वाणिज्य बैंकहरूले ५४ खर्ब ७२ अर्ब तीन करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ खर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

वाणिज्य बैंकहरूले सुनचाँदी धितोमा ५० अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघिको तुलनामा सुनचाँदी धितोमा वाणिज्य बैंकहरूले तीन अर्ब ५२ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको वैशाख मसान्तमा वाणिज्य बैंकहरूले ४७ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । २०८० वैशाख मसान्तमा वाणिज्य बैंकहरूको कुल निक्षेप ४८ खर्ब ४२ अर्ब ८६ करोड रुपैयाँ थियो भने कुल कर्जा प्रवाह ४३ खर्ब २० करोड रुपैयाँ थियो ।

विकास बैंकहरूले पनि गत वैशाख मसान्तसम्म सुनचाँदी धितो राखेर कुल तीन अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा नौ करोड २० लाख रुपैयाँले कम हो ।

गत आर्थिक वर्षको वैशाख मसान्तसम्म विकास बैंकहरूले सुनचाँदी धितोमा तीन अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वैशाख मसान्तसम्म विकास बैंकहरूले पाँच खर्ब ९३ अर्ब ६७ करोड रुपैयाँ निक्षेप सकलन गरी चार खर्ब ९६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि विकास बैंकहरूको निक्षेप पाँच खर्ब ४४ अर्ब १६ करोड रुपैयाँ र कर्जा प्रवाह र चार खर्ब ६२ अर्ब नौ करोड ५० लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा गत वैशाखसम्म एक अर्ब छ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन एक वर्षअघिको तुलनामा छ करोड रुपैयाँ बढी हो । गत आर्थिक वर्षको वैशाख मसान्तमा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा प्रवाह गरेको कर्जा एक अर्ब रुपैयाँ थियो । फाइनान्स कम्पनीहरूले गत वैशाखसम्म एक खर्ब २४ अर्ब ३१ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ९८ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको वैशाख मसान्तमा फाइनान्स कम्पनीहरूको कुल निक्षेप एक खर्ब सात अर्ब ८४ करोड रुपैयाँ र कुल कर्जा ९२ अर्ब ६० करोड रुपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x