Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारज्योति विकास बैंकमा ‘डिजिटल हस्ताक्षर’ प्रयोग

ज्योति विकास बैंकमा ‘डिजिटल हस्ताक्षर’ प्रयोग


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ । बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिस्ट्रारको कार्यालयले मिति २०८१ सालको श्रावण १७ गते प्रकाशन गरेको सूचनाबमोजिम यो पहलको सुरुवात गरेको हो ।

बैंकले कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरूलगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरूको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रिडेयन्ट इन्फोटेक नेपाल प्रालिबाट उक्त डिजिटल हस्ताक्षर लिएको हो । डिजिटल हस्ताक्षर प्रणाली सुचारु भएपश्चात कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ । साथै, भौतिकरूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ । यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ ।

डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रियरूपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ । बैंकले डिजिटल बैंकिङ प्रवद्र्धनसँगै समग्र बैंकिङ सूचना प्रणालीको सुरक्षा, सरलता, र सुदृढता थप बढाउन हाईपर कन्र्भज इन्फ्रास्ट्रक्चर (एचसीआई)मा आधारित अत्याधुनिक सर्वर प्रणालीलाई लागू गरेको छ । हालै, बैंकले डिजिटल बैंकिङ अनुभवलाई अझ प्रभावकारी बनाउनको लागि नयाँ, परिष्कृत र प्रयोगकर्तामैत्री आधिकारिक वेबसाइट पनि सुचारु गरेको छ । बैंकले भिडियो बैंकिङमार्फत अनलाइनबाट खाता खोल्ने व्यवस्थाका साथै डिजिटल बैंकिङलाई थप सरल र विश्वसनीय बनाउने उद्देश्यले विकास बैंकहरूमा पहिलो पटक क्युआर कोडमार्फत भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त गर्न सकिने क्युआर अडियो बक्स प्रविधि, डेबिट कार्डविना नै मोबाइल बैंकिङ एपमार्फत एटीएमबाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्रल सेवा, एपबाटै मुद्दती खाता खोल्न सकिने सुविधा, विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री र सेवाको रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने प्रि–पेड डलर कार्ड सेवा र चेकबुकविना नै मोबाइल बैंकिङ एपमार्फत क्युआर कोड स्क्यान गरेर रकम झिक्न सकिने स्क्यान एन्ड विथ ड्रल सेवा लागू गरेको छ । साथै, बैंकले देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरिरहेको निःशुल्क क्युआर कोड सेवाले ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्दै, डिजिटल बैंकिङलाई थप प्रवर्द्धन गर्दै देशभर डिजिटल भुक्तानी सेवाको विस्तारमा योगदान पुर्याइरहेको छ ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोटप्रति प्रतिबद्ध रहेको छ । आफ्नो खुद नाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवनरक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब नौ सयभन्दा बढी नेपाली शिशुहरूको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जीवनरक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल एक सय २१ शाखा कार्यालय, तीन वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x