Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारदेव विकास बैंक प्राप्ति गर्न कुमारी बैंकलाई अन्तिम स्वीकृति

देव विकास बैंक प्राप्ति गर्न कुमारी बैंकलाई अन्तिम स्वीकृति


काठमाडौं, असार १४
नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको देव विकास बैंकलाई प्राप्ति गर्नको लागि कुमारी बैंकलाई अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकको पछिल्लो पटक बसेको सञ्चालक समितीको बैंठकले कुमारीलाई उक्त स्वीकृति दिएको हो । कुमारी बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष आमिर प्रताप राणाको अध्यक्षतामा यही जेठ १९ गते सम्पन्न भएको बैंकको विशेष साधारणसभाले प्राप्तिसम्बन्धी निर्णय गरेको थियो । सो साधारणसभामा कुमारी बैंक लिमिटेडद्वारा साविकको देवःविकास बैंकको प्राप्तिको प्रस्ताव पारित गरिएको थियो ।

कुमारी बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन अधिकारीहरुमाझ एक समारोहबीच साबिकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन सम्पन्न भएको थियो । उक्त प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप एक खर्ब २० अर्ब तथा कर्जा लगानी एक खर्ब पाँच अर्ब र शाखा सञ्जाल भने दुई सय नौवटा पुग्नेछ ।

विशेष साधारणसभा मार्फत प्राप्तिपश्चात् कुमारी बैंकको प्रति एक कित्ता सेयर बराबर देवःविकास बैंकको शून्य दशमलव ८६ कित्ता सेयर अनुपातमा सेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ । कुमारीले चालू आर्थिक ब्याजको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ लाख ८९ हजार एक सय ४८ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार चार सय ४० रुपैयाँ रहेको बैंकले चालू आर्थिक ब्याजको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ५० करोड ६७ लाख नौ हजार नौ सय ९७ रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ७० करोड ५० लाख १४ हजार पाँच सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार सात सय ६६ रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार ५२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब २३ करोड ३० लाख ६४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया