Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएक वर्षमा ३५ अर्ब रुपैयाँले घट्यो हायर पर्चेज कर्जा

एक वर्षमा ३५ अर्ब रुपैयाँले घट्यो हायर पर्चेज कर्जा


काठमाडौं । मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलताको असर गत आर्थिक वर्षमा वित्तीय प्रणालीमा पनि परेको छ । बजारमा उपभोग घट्दा उद्योगीले उत्पादन घटाएका थिए । कर्जा लिएर उत्पादन बढाउने अवस्था नहुँदा बैंकमा कर्जाको माग न्यून थियो । ऋण लिएर काम गरिरहेका धेरै ऋणीहरूले साँवाब्याज भुक्तानी गर्न नसक्दा कालोसूचीमा पर्ने ऋणीहरूको संख्या पनि उच्च दरमा बढेको थियो । यही कारण बैंकहरू कर्जा प्रवाहमा चुजी देखिएका थिए । जसको असर हायर पर्चेज कर्जा प्रवाहमा पनि देखिएको छ ।

अर्थतन्त्र ठीकठाक भएको अवस्थामा हायर पर्चेज कर्जा राम्रो जानेगरेको थियो । तर, गत आर्थिक वर्षमा ब्याजदर उच्च भएकाले घरजग्गा कारोबार, हायर पर्चेज, सेयर बजारमा सङ्कुचन आएको थियो । यसको असर बैंकबाट प्रवाह हुने कर्जामा पनि परेको थियो । बैंकरहरूले कर्जा असुलीमा समस्या आउँदा बैंकहरू ऋण दिन चुजी बनेको र ब्याजदर उच्च हुँदा कर्जाको मागमा पनि सङ्कुचन आएको बताएका थिए । अहिले ब्याजदर सस्तो भए पनि कर्जाको माग कम नै रहेको बैंकहरूले बताएका छन् ।

सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा कुल ५१ खर्ब ६१ अर्ब ७१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये हायर पर्चेज क्षेत्रमा एक खर्ब २४ अर्ब १० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ अर्ब ११ करोड ४० लाख रुपैयाँ कम हो । अघिल्लो वर्ष कुल ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह भएको मध्ये हायर पर्चेजमा एक खर्ब ५९ अर्ब २१ करोड ६० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८०/८१ मा कुल ४५ खर्ब ६० अर्ब ५८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । हायर पर्चेजमा मात्रै एक खर्ब छ अर्ब ८६ करोड रुपैयाँ प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३१ अर्ब ४० करोड २० लाख रुपैयाँले कम हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ४३ खर्ब आठ अर्ब ९९ करोड रुपैैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेजमा मात्रै एक खर्ब ३८ अर्ब २६ करोड २० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

विकास बैंकहरूले पनि हायर पर्चेज क्षेत्रमा कर्जा प्रवाह घटाएका छन् । गत आर्थिक वर्षमा कुल पाँच खर्ब एक अर्ब ४३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेजमा १३ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा तीन अर्ब ३६ करोड २० लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले कुल चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा हायर पर्चेजमा मात्रै १७ अर्ब ३५ करोड २० लाख रुपैयाँ लगानी गरेका थिए ।

फाइनान्स कम्पनीहरूले पनि हायर पर्चेज कर्जा घटाएका छन् । गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले ९९ अर्ब ६९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा तीन अर्ब २५ करोड ३० लाख रुपैयाँ प्रवाह गरेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३४ करोड ९० लाख रुपैयाँ कम हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूले कुल ९२ अर्ब ९३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा हायर पर्चेज क्षेत्रमा तीन अर्ब ६० करोड २० लाख रुपैयाँ प्रवाह गरेका थिए ।

अहिले ब्याजदर घटेर निकै सस्तो बनेको छ । बजार पनि केही चलायमान बन्ने सङ्केतहरू देखिएका छन् । बाह्य क्षेत्र मजबुत बनेको छ । आन्तरिक अर्थतन्त्र पनि बिस्तारै उक्सिँदै छ । भर्खरै नाडा अटो सो सम्पन्न भएको छ । तीन हजारभन्दा बढी सवारीसाधन बुक भएको व्यवसायीले बताएका छन् । बैंकहरूले पनि हायर पर्चेजमा एकल दरको ब्याज अफर गरेका छन् । त्यसैले यस आर्थिक वर्षमा गाडीको बिक्री बढ्ने र बैंकले प्रवाह गर्ने कर्जा पनि बढ्ने अनुमान गरिएकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x