Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको क्षेत्रीय कार्यालय जनकपुरमा

मुक्तिनाथ विकास बैंकको क्षेत्रीय कार्यालय जनकपुरमा


जनकपुरधाम, साउन १५
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकैसाथ सञ्चालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले शाखा विस्तार गर्ने क्रममा बुधबारदेखि प्रदेश २ को क्षेत्रीय कार्यालय तथा जनकपुर शाखा सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरसका कारण पर्नसक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गर्दै बैंकले जनकपुरधाममा दोस्रो शाखा तथा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हो । यस शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, डिम्याट खाता, एटीएम सेवा, क्यूआर पेमेन्ट सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरूलाई प्रदान गर्ने बैंकका क्षेत्रीय प्रबन्धक प्रभाष झाले प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जामा ‘मुक्तिनाथ ग्राहक विशेष लाभ योजना’ नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ ।

यस योजनाअन्तर्गत अधिकांश कर्जामा सीमित अवधिका लागि आकर्षक सेवा तथा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । यस योजनाअन्तर्गत न्यूनतम ब्याजदर कर्जा प्रवाह गरिनेछ । त्यस्तै ४८ घन्टाभित्र कर्जा स्वीकृति गरिने र यसैगरी एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने बैंकले जनाएको छ । कर्जा सेवाशुल्क अधिकतम १ प्रतिशत मात्र हुने बताइएको छ ।

क्षेत्रीय प्रबन्धक झाकाअनुसार कोरोना भाइरस महामारीको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङलगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ । साथै यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । मुक्तिनाथ विकास बैंकको नयाँ शाखा तथा क्षेत्रीय कार्यालय स्थापना भएसँगै ४४ जिल्लामा शाखा कार्यालयको संख्या एक सय ३७ पुगेको छ । यस्तै बैंकले देशभर २१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया