Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंक र चाँगुनारायण नगरपालिकाबीच सम्झौता

नेपाल बैंक र चाँगुनारायण नगरपालिकाबीच सम्झौता


काठमाडौं, भदौ २८
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एवं भक्तपुरस्थित ऐतिहासिक चाँगुनारायण नगरपालिकाबीच सम्झौता भएको छ । बैंकका अनुसार नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा सहकार्य गर्ने सम्झौताहरूमा हालै हस्ताक्षर भएको हो । नगरपालिकाले सञ्चालन गर्न लागेको बचत खाता छोरीको, सुरक्षा जीवनभरिको कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका सामुुदायिक विद्यालयहरूमा अध्ययनरत छोरीहरूको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक वर्ष चार हजार जम्मा गर्दै जाने व्यवस्था मिलाइनेछ ।

बैंकका अनुसार सम्झौताबमोजिम शून्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरूमा प्रदान गर्ने उच्चतम ब्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने÷झिक्नेलगायतका अन्तरबैंक सेवामा कुनै पनि शुल्क नलाग्नेलगायतका अन्य सुविधाहरू प्रदान गर्नेछ ।

साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरूमा तीन लाख रुपैयाँसम्मको निक्षेप बीमा समेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैँले वा उनीहरूका अभिभावकहरूले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यसप्रकारको कार्यक्रमबाट छात्राहरूको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बीचैमा विद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, वाल विवाह निरुत्साहन गर्न, छोरीहरूको आर्थिक र सामाजिक सुरक्षागरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु-याउने अपेक्षा गरिएको छ ।

उक्त रकम छात्राहरूले १२ कक्षा उत्तीर्ण गरेपश्चात् मात्र झिक्न पाउनेछन् । त्यसैगरी सोही अवसर मै चाँगुनारायण नगरपालिका एवं नेपाल बैंकबीच ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा समेत अर्को सम्झौता भएको छ ।

उक्त नगरपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य व्यवसाय प्रवर्द्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशील बन्न चाहने नगरवासी एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि एकीकृत ब्याज अनुदान कार्यविधि २०७५ अन्तर्गत योग्यता पुगेका उद्यमीहरूलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्द्धन गर्न, विदेशबाट फर्केका युवाहरूको विदेशमा आर्जन गरेको शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण गरी व्यवसायिकता अभिवृद्धि गर्न, जनजाति, सीमान्तकृत, अपाङ्गता तथा विपन्न वर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियत प्रदान गरी उद्यमशीलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले चाँगुनारायण नगरपालिका र नेपाल बैंकबीच उक्त सम्झौता भएको हो ।

उपरोक्त दुवै सम्झौतामा नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा चाँगुनारायण नगरपालिकाको तर्फबाट नगरप्रमुख सोमप्रसाद मिश्रले हस्ताक्षर गरेका हुुन् । कार्यक्रममा चाँगुनारायाण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारी, नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता प्रकाशकुमार अधिकारी, वाग्मती प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थी, भक्तपुर शाखाका प्रमुख विष्णुमान भैललगायतको उपस्थिति रहेको थियो ।

नेपालकै फ्ल्यागसिप बैंकको रूपमा रहेको बैंकले हाल एक सय ८९ वटा शाखाहरू, एक सय २५ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ । बैंकले चालू आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या दुुई सय १४ पु¥याउने लक्ष्यका साथ कार्यहरू अगाडि बढाइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया