Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकको ‘सहयात्रा समृद्धिको’ कर्जा योजना

प्रभुु बैंकको ‘सहयात्रा समृद्धिको’ कर्जा योजना


काठमाडौं ।
प्रभु बैंकले ‘सहयात्रा समृद्धिको’ नामको कर्जा योजना सुभारम्भ गरेको छ । मूलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कोभिड १९ को कारणले प्रभावित र समस्यामा परेका साना उधमी तथा व्यवसायी, स्वरोजगार उधमी, शिक्षित बेरोजगार युवा, विदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उधमीहरूको विद्यमान आर्थिक कठिनाइलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरूका पेसा, उद्यम र व्यवसायहरूलाई पुनः सुचारु गर्न सहयोग पु-याउने लक्ष्यका साथ ल्याइएको बैंकले जानकारी दिएको छ ।

सहयात्रा समृद्दिको यो कर्जा योजना उक्त समूहलाई आर्थिक उन्नतिसहित जीवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने एउटा प्रयास पनि हो, बैंकले भनेको छ । सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पोलगायत अन्य सार्वजनिक सवारी साधनहरूमा रोक लगाएसँगै विशेषगरी महिला सफा टेम्पोचालकहरू आर्थिक संकटका बीच बाँचिरहेका छन् ।

नियमितरूपमा भइरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागि आर्थिक जोहो गर्न नसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बीच आफ्नो घर व्यवहार चलाउन उनीहरू बाध्य रहेका छन् । अर्कोतिर हाल विद्यालयहरूले विधार्थीहरूका लागि अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन् तर शिक्षकहरूले अनलाइन कक्षा सञ्चालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्युटर तथा फर्निचरजस्ता न्यूनतम आवश्यकताहरूको जोहो गर्न सकेका छैनन् ।

यो कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैंकले काठमाडौँ उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरूलाई अधिकतम एक लाख र विद्यालय शिक्षकहरूलाई अधिकतम चार लाख रुपैयाँ कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । सोहीक्रममा आज यो कर्जा योजना शुभारम्भको अवसरमा काठमाडौं उपत्यकाभित्रका १० जना महिला सफा टेम्पो चालकहरूलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरिएको बैंकले जानकारी दिएको छ । यो कर्जा योजना तोकिएका अन्य पेसा, उधम र व्यवसाय साथै काठमाडौँ उपत्यकाबाहिर पनि क्रमशः लागू गर्दै जाने बैंकले जानकारी दिएको छ ।

‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरूले कर्जासँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरू पनि सिकून् भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस विषम परिस्थितिको घडीमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरू यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैंकले लिएको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा एक अर्ब ३६ करोड ६९ लाख ७४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक अर्ब ७८ करोड ३५ लाख ९३ हजार रुपैयाँ खुुद मुनाफा कमाएको थियो ।

चुक्ता पुँजी १० अर्ब ३१ करोड ५५ लाख सात हजार रुपैयाँ रहेको बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासमा एक खर्ब २८ अर्ब ४९ करोड ४३ लाख ५४ हजार रुपैयाँ निक्षेप संंकलन गरी ९९ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार अर्ब ६४ करोड ५८ लाख १५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब आठ करोड २६ लाख १७ हजार रुपैयाँ रहेको छ । निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ८१ प्रतिशत रहेको बैंकको कर्जा तथा निक्षेपबिचको ब्याजदर अन्तर (स्प्रेड दर) भने तीन दशमलव ५७ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले एक खर्ब पाँच अर्ब ४८ करोड ८५ लाख छ हजार रुपैयाँ निक्षेप संंकलन गरी ८५ अर्ब ८२ करोड ११ लाख ७६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब ३९ करोड ८० लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया