Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआरएन लघुवित्तको विशेष साधारणसभा

एनआरएन लघुवित्तको विशेष साधारणसभा


काठमाडौं ।
एनआरएन लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा सम्पन्न भएको छ । आइतबार धनगढीमा भएको साधारणसभाले छजना सञ्चालक समिति चयन गर्नुका साथै एफपीओ निष्कासन गर्ने, लघुवित्तको नाम परिवर्तन र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावलाई पारित गरेको छ ।

संस्थाको सञ्चालक समितिमा आगामी चार वर्षको कार्यकालका लागि संस्थापक समूहको तर्फबाट चार जना र सर्वसाधारण तर्फबाट दुई जना निर्वाचित गरेको छ । सञ्चालक समितिको सदस्यहरूमा संस्थापकतर्फ लोकराज शर्मा, मनोज न्यौपाने, नेत्रप्रसाद जोशी र सरिता उप्रेती निर्वाचित भएका छन् । यसैगरी सर्वसाधारण तर्फबाट सन्तोष पाण्डे र भरतबहादुर हमाल निर्वाचित भएका छन् ।

यसैगरी साधारणसभाले साबिकको किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त, रामारोशन लघुवित्त र क्रियटिभ लघुवित्तसँगको मर्ज अनुमोदन प्रस्ताव समेत पारित गरेको छ । संस्थाले एक वर्षभित्रमा चारवटा लघुवित्त संस्थाहरूसँग मर्जर सम्पन्न गरेको थियो । सभाले पुनः सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले करिब १३ करोड रूपैयाँबराबरको एफपीओ जारी गर्ने संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहले जानकारी दिए ।

हाल संस्थाको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ५२ करोड ८८ लाख र चुक्ता पुँजी ३९ करोड २८ लाख रहेको छ । साथै संस्थाको शाखा कार्यालय एक सय ४२, कर्मचारी संख्या पाँच सय, लगानी चार अर्ब १० करोड, बचत ८७ करोड ६० लाख, सदस्य संख्या एक लाख ४४ हजार र ऋणी सदस्य संख्या ५० हजार नौ सय ९७ रहेका छन् ।

हालसम्म जम्मा ४३ जिल्लामा शाखा विस्तार गरिसकेको छ भने आगामी एक वर्षभित्र बाँकी रहेका ३४ जिल्लामा शाखा विस्तार गर्ने संस्थाले जनाएको छ । त्यस्तै संस्थाको कर्पाेरेट कार्यालय काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा स्थापना गरिने भएको छ । यसैगरी संस्थाको नाम परिवर्तन गरेर साझा लघुवित्त वा किसान लघुवित्तमध्ये एउटा राखिने प्रमुख कार्यकारी अधिकृत इन्द्रकुमार शाहले जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया