Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकले वायोमास पेलेट परियोजनामा लगानी गर्ने

एनएमबी बैंकले वायोमास पेलेट परियोजनामा लगानी गर्ने


काठमाडौं ।
एनएमबी बैंकले वन तथा वातावरणका क्षेत्रका व्यावसायिक व्यक्तिहरूद्वारा प्रवर्द्धन गरिएको बकस रिन्युएबल इनर्जी प्रालिसँग वायोमास पेलेट उत्पादन गर्नका लागि १६ करोडबराबरको कर्जा सम्झौतामा हस्ताक्षर गरेको छ ।

बकस रिन्युएबल इनर्जी प्रालिलाई इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)द्वारा प्रवर्द्धित नेपालको पहिलो अन्तर्राष्ट्रिय निजी इक्विटी फण्ड बिजनेस अक्सीजन प्राइभेट लिमिटेड (बिओटू)ले परियोजना विकास गर्नका लागि इक्विटीका रूपमा पाँच करोड र बकस रिन्युएबल इनर्जी कम्पनीका प्रमोटरहरूद्वारा पाँच करोडबराबरको लगानी रहेको छ ।

एनएमबी बैंकले प्रदान गर्ने १६ करोडबराबरको कर्जा रकमलाई कम्पनीले वायोमास पेलेट मेसिन खरिद गर्ने कार्यमा र चालू पुँजीमा उपयोग गर्नेछ । बैंकका अनुसार परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको वायोमासलाई पेलेटको रूपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाको लागि वैकल्पिक इन्धनको उत्पादन गर्नेछ ।

वायोमास पेलेट एक नवीकरणीय ऊर्जा हो । यसले परम्परागत ऊर्जा जस्तै पेट्रोलियम पदार्थ, एलपीजी र कोइलाको विकल्प प्रदान गर्नेछ । सर्लाही जिल्लाको इश्वरपुर नगरपालिका वडा नं. ५ मा स्थापना हुने यस आयोजनाले प्रति वर्ष १९ हजार आठ सय २४ मेट्रिक टनबराबरको पेलेट उत्पादन गर्ने लक्ष्य राखेको छ । पेलेट उत्पादनका लागि चाहिने कच्चा पदार्थ सागरनाथ वन विकास परियोजनावाट प्राप्त गरिनेछ । सागरनाथ वन क्षेत्रमा हरेक वर्ष उम्रने वनमारा तथा अन्य झाडीहरू यस उद्योगको लागि कच्चा पदार्थ हुनेछ ।

वन पैदावर विकास समितिले पेलेट उत्पादनका लागि सागरनाथ वन विकास परियोजनमा रहेका वनमारा तथा झाडीजस्ता वायोमास बकस रिन्युएवललाई नियमानुसार २० वर्षका लागि उपलव्ध गराउनेसम्बन्धी सम्झौता गरिसकेको छ । प्रत्येक वर्ष सागरनाथ वन विकास परियोजनाले यस्ता झाडी तथा पातपतिंगर हटाई वन डढेलो नियन्त्रण गर्ने कार्यको लागि ठूलो रकम खर्च गर्दै आएको छ ।

यस कार्यक्रमवारे जानकारी प्रदान गर्न आयोजना गरिएको भर्चुअल प्रेस बैठकमा विजनेस अक्सिजन (बिओटुु)का प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेले भने यो हाम्रा लागि अत्यन्त उत्साहजनक लगानी हो ।

यसबाट वातावरणीय अनुकूलनमा सहयोग पुग्ने र स्वच्छ ऊर्जाको क्षेत्रमा मार्ग प्रशस्त भई मुलुुकभित्र नै कोइलाको विकल्प तयार हुनेछ । सो अवसरमा बकस रिन्युएवल इनर्जी प्रालिका अध्यक्ष सन्तोषमणि नेपालले भने यो परियोजना नेपालको लागि अत्यन्त्य सान्दर्भिक छ । यसले वन डढेलोले निम्त्याउने समस्या घटाउने, कोइला र जीवावशेष इन्धनको औद्योगिक प्रयोग घटाउनका साथै वन क्षेत्रको वरपरका विपन्न र जोखिममा रहेका परिवारहरूलाई रोजगारी प्रदान गर्न यस प्रोजेक्टले महत्वपूर्ण भूमिका खेल्नेछ ।

बकस रिन्युएवल इनर्जी प्रालिका कार्यकारी निर्देशक कुवेरमणि नेपालले ईन्धनमा परनिर्भरता भएको हाम्रो देशले विगतमा भएका नाकाबन्दीका कारण नेपालीले जुन दुःख सहनु प¥यो त्यो अत्यन्तै दुःखदायी सम्झना छ र सोबाट पाठ सिक्दै नेपालले आफ्ना देशमा खेर गइरहेको वायोमास उपयोग गरी नवीनतम प्रविधिको प्रयोगबाट वैकल्पिक ऊर्जा उत्पादन गर्नु आजको आवश्यकता भएको बताए ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एनएमबी बैंकले उक्त सहकार्यसँगको विषयमा आफ्नो धारणा अघि सार्दै भने कोइला तथा जीवावशेष इन्धनको उपयोग कटौती गरी कार्बन उत्सर्जन घटाउने र नवीकरणीय ऊर्जाका संसाधनको प्रवर्द्धन गर्ने लक्ष्य भएको बीओटूको लगानी रहेको परियोजनासँग सहकार्य गर्न पाउँदा अत्यन्त गौरवान्वित छौँ ।

एनएमबी वैक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियलको एसियाबाट प्रतिनिधित्व गद निर्देशक समितिको सदस्य रहेको, गुणस्तरीय बैकिङसम्बन्धी ग्लोबल एलायन्स फर बैंकिङ अनभ्याल्लूजको सदस्य समेत भएको नाताले हाम्रो व्यावसायिक अवधारणामा नवीकरणीय ऊर्जाका परियोजनाहरू, साना तथा मझौला उद्योगहरू, कृषि व्यवसाय र पर्यावरणीय सुरक्षामा केन्द्रित परियोजनाहरू प्राथमिकताभित्र पर्ने गर्दछन् ।

यस्ता परियोजनाहरूले वास्तविकरूपमा समाजको तल्लो तहसम्म पुगी विपन्न वर्गको जीवन रूपान्तरण गर्नेछन् भन्ने अपेक्षाका साथ भविष्यमा पनि हामी यस्ता थुप्रै परियोजनाहरूमा लगानी गर्नेछौँ भन्ने समेत विश्वास लिएका छौँ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया