Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारउद्यमी बन्न चाहनेका लागि निःशुल्क तालिमदेखि तीन प्रतिशत ब्याजमा सहुलियत कर्जा

उद्यमी बन्न चाहनेका लागि निःशुल्क तालिमदेखि तीन प्रतिशत ब्याजमा सहुलियत कर्जा


काठमाडौं ।
उद्यमी बन्न चाहने युवाका लागि बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेसनले संयुक्तरूपमा नवप्रवर्द्धन प्रस्ताव आह्वान आयोजना गर्ने भएको छ । युवाहरूको ज्ञान, सीप र क्षमतालाई नवप्रवद्र्धन प्रस्ताव आह्वान गरी संकलन गर्ने, उत्कृष्ट आइडिया पठाउने युवाहरूलाई उद्यमशीलतासम्बन्धी निःशुल्क तालिम प्रदान गरी राष्ट्रिय वाणिज्य बैंकमार्फत युवा उद्यमीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बुधवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय अरुण नेपालको विशेष उपस्थितिमा मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल फाउण्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठबिच समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममार्फत प्रवाह गरिने कर्जा न्यूनतम एकदेखि अधिकतम तीन प्रतिशत ब्याजदर कायम गरिएको र अधिकतम १५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

समझदारी पत्र हस्ताक्षर समारोहमा बोल्द मन्त्री अरुण नेपालले ज्ञान, सीप र क्षमता भएका युवालाई देशमै उद्यमी बनाउन निःशुल्क तालिम प्रदान गर्ने बताए । ज्ञान, सीप र प्रविधिसहित निकै सस्तो ब्याजदरमा बिनाधितो युवाहरूले कर्जा समेत प्राप्त गर्ने भएकाले यो आर्थिक वर्षमा एक सयभन्दा बढी नयाँ स्टार्टअप कम्पनीहरू स्थापना हुने मन्त्री नेपालले विश्वास व्यक्त गरे । नवप्रवर्द्धन प्रस्ताव आह्वान, तालिम सञ्चालन र सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रमको समन्वय गरिरहेको विशाल फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेले नयाँ युवा उद्यमीका पूर्ण प्याकेजसहितको कार्यक्रम डिजाइन गरिएको जानकारी दिए ।

नयाँनयाँ आइडिया भएर पनि कहाँ जाने, कस्लाई भेट्ने, लगानी कसरी खोज्ने, तालिम कसरी लिने भनेर दुविधामा भएका युवाहरूलाई निःशुल्क सरकार, निजी क्षेत्रसहितको साझेदारीमा यो कार्यक्रम अगाडि सारेको फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेको भनाइ रहेको छ ।

समझदारीअनुसार मंसिर पहिलो हप्ताबाट आइडिया कल सुरु हुनेछ । पुस र माघ महिनामा आइडिया पठाउने युवाहरूलाई तालिम प्रदान गरी फागुन र चैत्र महिनामा सहुलियकतपूर्ण कर्जा प्रवाह हुनेछ । नेपालमा उद्यमी बन्न चाहने युवाका लागि यो स्टार्टअप आइडिया कल निकै उपयोगी हुने आयोजकहरूले बताएका छन् । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुई सय ४२ वटा शाखा कार्यालय, २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया