Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच सहकार्य

सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच सहकार्य


काठमाडौँ ।
दिगो आर्थिक विकासका लागि सिद्धार्थ बैंक, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंक, जर्मनीबीच त्रिपक्षीय सहकार्य भएको छ । जर्मन सरकारको सहयोगमा ग्रामीण क्षेत्रको दीर्घकालीन आर्थिक विकास (एसईडीआरए) प्रोजेक्टका लागि सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीच हालै एक त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुुन् ।

बैंकका अनुसार यो प्रोजेक्ट नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको हो । यसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकमार्फत वाणिज्य बैंकमध्येबाट सिद्धार्थ बैंक र जर्मन सरकारको तर्फबाट केएफडब्लू डेभलपमेन्ट बैंकद्वारा कार्यान्वयन गर्नेगरी नेपालको ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरूलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्शलगायत आवश्यक प्राविधिक सेवाहरू प्रदान गर्नेछ ।

यो परियोजनाअन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैंकले लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि दुई लाखदेखि ४० लाख रुपैयाँसम्मको कर्जा सुविधा उपलब्ध गराउनेछ । १० वर्षसम्मको कर्जा अवधि रहनेछ भने लघु, साना तथा मझौला उद्यमीहरूलाई सीपमूलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग पनि बैंकले गर्ने छ ।

यो योजनाले ग्रामीण तथा अर्धसहरी क्षेत्रका लघु, साना तथा मझौला उद्यमीहरूलाई उद्यमशीलता विकासको लागि आवधिक कर्जाका साथै सीपमूलक तालिम प्रदान गर्ने बैंकको मुख्य उद्देश्य रहेको छ । विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैंकको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैंक र केएफडब्लू डेभलपमेन्ट बैंकबीचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरूको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया