Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसहकारी बैंकको १७औं वार्षिक साधारणसभा

सहकारी बैंकको १७औं वार्षिक साधारणसभा

कृषि र सहकारीमार्फत समृद्धिमा जुटौँ : मुख्यमन्त्री राई


काठमाडौं ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको समृद्धिका लागि सहकारीमार्फत कृषिमा आमुल परिवर्तन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभाअन्तर्गत मंगलबार भर्चुअल माध्यमबाट आयोजित प्रदेश नं. १ को एकाइ सभामा बोल्दै उनले यस्तो बताएका हुुन् ।

कृषि क्षेत्रलाई आर्थिक विकासको आधार बनाउनका लागि सहकारी क्षेत्रलाई परिचालन आवश्यक रहेको भन्दै उनले सहकारी क्षेत्रले कृषि क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । प्रदेश नं. १ को विकासका लागि सहकारी क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेका छौँ, मुख्यमन्त्री राईले भने–सहकारी बैंकसँग सहकार्य गरेर काम गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष तथा बैंकका सल्लाहकार दिपक प्रकाश बाँस्कोटाले नेपालको सहकारी अभियानको एकमात्र बैंकका रूपमा रहेको राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित गराउँदै समग्र सहकारी क्षेत्रको शाख बढाउनुपर्नेमा जोड दिएका छन् । समानान्तर सहकारी बैंकको चर्चा बजारमा चलेको आफूले सुनेको भन्दै उनले समानान्तर सहकारी बैंकको औचित्य नहरेको बताएका छन् । सहकारी क्षेत्रलाई मुलुक रूपान्तरणको महत्वपूर्ण अंगका रूपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकलाई नै थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । सहकारी क्षेत्र विभाजित भएर होइन, एकीकृत भएर यो क्षेत्रलाई आम समुदायको भरोसाको केन्द्र बनाउनु पर्छ, बाँस्कोटाको भनाइ थियो ।

सहकारी बैंकलाई मुख्य बैंक बनाएर उत्पादन, प्रशोधन र बजारीकरणका क्षेत्रमा ध्यान दिनु पर्दछ, पूर्वमन्त्री समेत रहनु भएको बाँस्कोटाले भने– ‘कृषि, कृषक र वातावरण जोगाउने गरी सहकारी बैंकका कामलाई केन्द्रित गर्नु पर्दछ ।’ नेपालको सहकारी अभियानलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका बास्कोटाले सहकारी बैंकलाई शाखा होइन, सदस्यमार्फत देशव्यापी रूपमा अगाडि बढाउने गरी वर्तमान सहकारी ऐनलाई संशोधन गर्नु पर्ने सुझाव दिएका छन् ।

सहकारी बैंकका संस्थापक समेत रहेका बाँस्कोटाले सहकारीको मूल मर्म र भावनालाई कमजोर नबनाउने गरी काम गर्न सकेमा सहकारीलाई ठीक ढंगले अगाडि बढाउन सकिने बताए । कार्यक्रममा बैंकका अध्यक्ष केबी उप्रेतीले वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक लक्ष्मीप्रसाद उप्रेतीले लेखा समितिको प्रतिवेदन र सञ्चालक रामहरि बजगाईले कार्यविधि र जग्गा खरिदसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् । साधारणसभाले सबै प्रतिवेदन सर्बसम्मत पारित गरेको छ । कार्यक्रम बैंकका अध्यक्ष उप्रेतीको अध्यक्षता, सञ्चालक तथा प्रदेश न. १ का संयोजक महेन्द्र गिरीको सञ्चालन र सञ्चालक अमृता सुब्बाको स्वागतमा सम्पन्न भएको थियो ।

बैंकका सञ्चालक एवं शिक्षा तालिम तथा सम्मान उपसमितिका संयोजक सरिता तिमिल्सिना भट्टराईले पुरस्कृत तथा सम्मानितहरूको नामावली घोषणा गरेका थिए । हरेक वर्ष वार्षिक साधारणसभामा प्रदान गरिने पुरस्कार तथा सम्मान यस वर्ष कोरोना संक्रमणका कारण भर्चुअलरूपमा कार्यक्रम गर्नुपरेको हुनाले घोषणा मात्र गरिएको र सहज वातावरण भएपछि पुरस्कृत तथा सम्मान गरिने उनले जानकारी दिए ।

बैंकले विभिन्न विधामा पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रमअन्तर्गत यस वर्ष सहकारी अभियन्ता सम्मान केशव बडाल, पूर्वसञ्चालक विधामा डिल्लीराम तिवारी, सहकारी बैंक विद्वता विधामा डा. नवराज सिंखडा, सहकारी बैंक पत्रकारिता पुरस्कार शर्मिलाल ठकुरीलाई प्रदान गर्ने भएको छ । यस्तै बैंकको शाखामध्येबाट बागलुङ शाखा, कर्मचारीहरूमध्ये प्रबन्धक अधिकृत तहबाट विनोद भट्टराई, सहायकस्तरबाट अर्जुन कार्की, सहयोगीस्तरबाट सोमबहादुर कार्कीलाई पुरस्कृत गरिनेभएको छ ।

सहकारी बैंकले देशभरका सहकारीहरूमध्ये वचत तथा ऋण विधिमा दाम्रभिट्टा वचत तथा ऋण सहकारी संस्था मोरङ, बचत तथा ऋणबाहेकका सहकारीहरूमध्येबाट पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कास्की र महिलाद्वारा सञ्चालित सहकारीहरूमध्येबाट महिला जनशक्ति वचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरलाई पुरस्कृत गर्नेभएको छ । प्रदेश नं. १ बाट वचत तथा ऋण विधामा सौठा बचत तथा ऋण सहकारी र अन्यबाट मेची सहकारी संस्था लिमिटेड झापालाई पुरस्कृत गरिने सो अवसरमा जानकारी दिइएको थियो । सहकारी बैंकले पहिलो पटक सातवटा एकाइअन्तर्गत साधारणसभा लागेको बैंकका प्रमुख कार्यकारी अधिृकत बद्रीकुमार गुरागाईले जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया