Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलाप्चेखोला जलविद्युत् आयोजनामा नौवटा बैंकहरूले १९ अर्ब ६५ करोड लगानी गर्ने

लाप्चेखोला जलविद्युत् आयोजनामा नौवटा बैंकहरूले १९ अर्ब ६५ करोड लगानी गर्ने


काठमाडौँ ।
लाप्चेखोला जलविद्युत् आयोजनामा नौवटा बैंकहरूले १९ अर्ब ६५ करोड लगानी गर्ने भएका छन् । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना एक सय ६० मेगावाटको लाप्चेखोला जलविद्युत् आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत नेपाल बैंकको सहकार्यमा जुटेको हो । व्यापारिक घराना एमभी दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको उक्त जलविद्युत् आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चेखोलामा निर्माण हुनेछ ।

कुुल २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाइ रहेको विभिन्न नौवटा बैंक तथा वित्तीय संस्थाहरूको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोडभन्दा बढी लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता ऋणीका तर्फबाट नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरूका तर्फबाट सोमबार बसेको सहभागी बैंक तथा वित्तीय संस्थाहरूसँगको सहवित्तीयकरण बैठकमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरेका थिए । उक्त अवसरमा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका अध्यक्ष÷प्रमुख कार्यकारी अधिकृतहरू तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उक्त आयोजनामा नेपाल बैंकद्वारा पाँच अर्ब, नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा तीन अर्ब ५० करोड, कर्मचारी सञ्चयकोषद्वारा दुुई अर्ब, राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई अर्ब, हिमालयन बैंकद्वारा दुुई अर्ब, लक्ष्मी बैंकद्वारा एक अर्ब ८८ करोड २५ लाख, नेपाल एसबीआई बैंकद्वारा एक अर्ब, बैंक अफ काठमाडौँद्वारा एक अर्ब तथा कृषि विकास बैंकद्वारा एक अर्ब गरी जम्मा १९ अर्ब ६५ करोड २५ लाखको वित्तीय प्रबन्ध गरिएको हो ।

नेपाल बैंकको संस्थागत कर्जा विभागका प्रमुख प्रदिप पाठकले सञ्चालन गरेको उक्त कार्यक्रममा कर्मचारी सञ्चय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले स्वागत मन्तव्य व्यक्त गर्दै यो निजी क्षेत्रद्वारा राष्ट्र निर्माणका लागि गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलतासँगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरूलाई हुने विचार व्यक्त गरे ।

नेपाल बैंकका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरू त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राविधिक, जोखिमलगायतका विभिन्न पक्षहरूको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरूमा तरलता सहज भएको वर्तमान अवस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सही उपयोग हुने विचार व्यक्त गरे । उनले मोतिलाल दुगड आफैँ बैंकका अध्यक्ष रहेको हुँदा बैंक कर्जाको सही सदुपयोग हुने तथा उक्त घराना नेपालको प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना रहेको र यसअघि लिखुखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेकोे हुँदा उहाँहरूको कार्यको जाँच भैसकेको, यो आयोजना पनि तोकिएको समय तथा लागतमा पूर्ण हुने विश्वास प्रकट गरे ।

सम्झौता कार्यक्रममा डेभलपर नाशा हाइड्रोपावर प्रालिका अध्यक्ष मोतिलाल दुगडले नेपालकै हालसम्मकै ठूलो वित्तीय लगानी रहेको यो आयोजनामा नेपाल बैंक लिमिटेड तथा अन्य बैंकहरूले तीव्रताका साथ गरेको कार्यको सह्राना गर्दै सरकारी बैंकको अग्रसरता र छोटो समयमा छिटो कार्य भएको अनुभव गर्दा सरकारी बैंकहरूमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको विचार व्यक्त गरे । उनले २०७९ साउनसम्ममा उक्त आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने जानकारी गराए


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया