Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु

राष्ट्रिय वाणिज्य बैंकको सहकार्यमा स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम सुरु


काठमाडौँ ।
वाग्मती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले स्टार्टअप आइडिया कल कार्यक्रमअन्तर्गत युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु गरेको छ । शनिबार एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, वाग्मती प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कार्यक्रमको सुरुवात गरेका हुुन् ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले उद्यमी बन्नका लागि आत्मविश्वास, धैर्यता, विषयविज्ञता र बजारको वस्तुस्थितिबारे राम्रो ज्ञान हुन आवश्यक रहेको बताए । घरेलु, साना उद्यमी तथा सृजनशील सोच भएका युवाहरूकै लागि सरकारले सहुलियतपूर्णकर्जा कार्यक्रम ल्याएको र यसको सफल कार्यान्वयनका लागि स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन युवाहरूलाई आग्रह समेत गरे । मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले युवामैत्री उद्यमका कार्यक्रम मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आगामी वर्ष युवालक्षित कार्यक्रमलाई बढाउँदै जाने बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नयाँ युवा पुस्ताको सोचमाथि लगानी गर्ने कार्यक्रम नै आइडिया कल कार्यक्रम भएकाले बैंकले सुरु गरेको यो कार्यक्रममा सहभागी हुन युवाहरूलाई आग्रह गरे । सरकारको पूर्ण स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंक सहुलियतपूर्ण कर्जा वितरणमा अन्य बैंकभन्दा निकै अघि रहेको उल्लेख गर्दै आगामी दिनमा युवाउद्यमी प्रवर्द्धनमा बैंक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सोही समारोहमा नेपाल उद्योग परिसंघका राष्ट्रिय परिषद् सदस्य एवं बैंकर वर्षा श्रेष्ठ, विशाल फाउन्डेसनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ, कार्यकारी निर्देशक विशाल गैरे, एड मार्क कलेजका संस्थापक शिवप्रसाद अधिकारीलगायतले समुद्घाटन सत्रमा उद्यम, उद्यमशीलता र युवा सहभागीताबारे मन्तव्य राखेका थिए ।

कार्यक्रमको दोस्रो र तेस्रो सेसनमा युवा स्वरोजगार कोषका पूर्वकार्यकारी निर्देशक बिनोद गुरागाई, त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकायका सहायक डिन डा. ध्रुवराज पोखरेल, खल्ती डटकमका अमित अग्रवाल, पैँचो पसलका प्रवन्ध सञ्चालक ध्रुव न्यौपाने, राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, महिला उद्यमी भारती पाठक, अञ्जु पौडेललगायतले विभिन्न सेसनमा बोलेको थिए ।

सरकार, वित्तीय संस्था र निजी संस्थाको संयुक्त आयोजनामा सुरु भएको यो कार्यक्रम वाग्मती प्रदेशभित्रका छवटा (व्यवस्थापन–बीबीए/एमबीए) कलेजहरू र सामाजिक संस्थाहरू (लियो/रोट्याकक्लव) सँगको सहकार्यमा चितवन, हेटौंडा, धुलिखेल र सिन्धुली जिल्लामा गरी १० वटा बृहत् उद्यमशीलता र वित्तीय साक्षरतासहितको युवा उद्यमी प्रवर्द्धन कार्यक्रम आयोजना गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए ।

युवाहरूलाई उद्यम व्यवसायतर्फ आकर्षित गर्न, विद्यार्थीमा अध्ययन पूरा गरेपछि जागिर खोज्नेभन्दा आफैँले नयाँ उद्यम सुरुवात गर्ने प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ सञ्चालन हुने यो कार्यक्रमको एउटा सेसनमा दुई सय जना युवा विद्यार्थीलाई राखेर स्वदेश तथा विदेशमा उद्यमशीलता विकास, नयाँ अवसरहरू, इनोभेसन र टेक्नोलोजी, नेपालमा नयाँ स्टाट अफ कम्पनीलाई सरकारले दिने अनुदान, बैंकहरूको लगानी, कम्पनी दर्ता र यसका चुनौती, बजार विस्तारलगायतका विभिन्न विषयमा केन्द्रित रहनेगरी कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका संयोजक एवं विशाल फाउन्डेसनका कार्यकारी निर्देशक विशाल गैरेले जानकारी दिए ।

सरकार, बैंक र सामाजिक संस्थासहितको सहभागीतामा गत मंसिर २४ गते समुद्घाटन भएको नवप्रवर्तन प्रस्ताव आह्वान कार्यक्रमलाई समेत यो कार्यक्रमले सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । वाणिज्य बैंक र विशाल फाउन्डेसनले सुरु गरेको आइडिया कलकार्यक्रममा आवेदनदिने समय यही माघ मसान्तसम्म समय रहेको छ । पहिलो चरणमा एडमार्क कलेजसँगको सहकार्यमा आयोजना गरिएको पहिलो श्रृङ्खलामा दुई सय युवाहरूको सहभागिता रहेका थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया