Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंक १४ वर्षमा

मुक्तिनाथ विकास बैंक १४ वर्षमा


काठमाडौं, पुस २२
मुक्तिनाथ विकास बैंकले १३औं वर्ष पार गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । सोही अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ । काठमाडौँंको बत्तीसपुतली, ललितपुरको भैँसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनास ताल, तनँहुको आँबुखैरेनी, लमजुङको बेशीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट, पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारिकरूपमा शाखा उद्घाटन गरेको हो ।

उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष भरतराज ढकालले गरेका हुन् । यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडि बढ्ने र विभिन्न वित्तीय तथा गैरवित्तीय सेवाको माध्यमद्वारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका पूर्वसञ्चालकहरू, वर्तमान सञ्चालकहरू, संस्थापक सेयरधनी तथा बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको छ, जसमध्ये, विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, विद्यालयमा स्टेशनरीका सामग्रीहरू तथा फर्निचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ता कपडा वितरण, चेपाङ संरक्षण समितिलाई खाद्यान्न वितरण, विभिन्न ठाउँहरूमा डस्टबिन वितरण, तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरूमा कम्बल वितरण, एम्बुलेन्सलाई आवश्यक मर्मत सम्भार, अस्पतालमा बिरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ ।

यसैगरी बैंकले बागमती सरसफाइ, गोदावरी सरसफाइ तथा पोखरा उपत्यका सरसफाइ अभियानका लागि आवश्यक पर्ने सामग्रीहरू पनि वितरण गरेको छ । यसैअन्तर्गत बैंकका क्षेत्रीय/शाखा कार्यालयहरूले बृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेका छन् । बैंकले काठमाडौँको कमलादी, काभ्रेको बनेपा, धादिङको धादिङ बेशी, रूपन्देहीको बुटवल, धनुषाको जनकपुर र कास्कीको नदीपुर शाखा कार्यालयहरूमा बृहत् रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको हो । बैंकले रक्तदान कार्यक्रमबाट कुल चार सय ३० पोका रगत संकलन गरेको छ । बैंकले यस वार्षिक उत्सवको अवसरमा गरेका माथि उल्लिखित सामाजिक उत्तरदायित्व कार्यक्रमहरूका लागि कुल आठ लाख रूपैयाँबराबरको खर्च गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

बैंकले हाल ४२ जिल्लामा एक सय ३४ वटा शाखाहरूमार्फत ग्राहकका आवश्यकताबमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरू प्रदान गर्दै आइरहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटीएम, अनलाइन बैंकिङलगायतका सेवाहरू पनि प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया