Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाले भुक्तानी प्रणालीलाई गेट–वे पेमेन्टमार्फत व्यवसायीहरूमा पु-याउने

एनआईसी एसियाले भुक्तानी प्रणालीलाई गेट–वे पेमेन्टमार्फत व्यवसायीहरूमा पु-याउने


काठमाडौँ ।
एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई गेट–वे पेमेन्टका माध्यमबाट व्यवसायीहरूमाझ पु-याउने भएको छ । डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौँ ग्राहकहरूमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको बैंकले नेपालमा पहिलो पटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेट–वे प्रणाली (साइबरसोर्स) लाई गेट–वे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आम व्यवसायीहरूमाझ पु-याउने भएको हो ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् यस बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेट–वे प्रदायक कम्पनीको गेट–वे प्रणालीले नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास बैंकले लिएको छ । यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्नसक्ने प्रणाली सुचारु गर्न सक्नेछन् ।

अमेरिका, चीन, भारतलगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेट–वे प्रणाली आफ्नो उच्च सफलता दर र निर्बाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यावसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एसिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यो सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टर कार्ड र युनियन–पेलगायतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित वस्तु तथा सेवाहरूको सर्वसुलभरूपमा अन्तर्राष्ट्रिय बजारमा बिक्रीवितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।

समयअनुरूप परिष्कृत सेवा तथा सुविधा भित्र्याउन लागिरहेको यस बैंक र उक्त फिनटेक कम्पनीबीचको सहकार्यबाट आगामी दिनहरूमा देशका अन्य फिनटेक कम्पनीहरूसँग सहकार्य गर्दै आम नागरिकहरूसमक्ष डिजिटल बैंकिङको पहुँच पु-याउन सहयोग पुग्नेछ । साथै यस बैंकले विभिन्न वालेट तथा पीएसओजस्ता फिनटेक कम्पनीहरूलाई कारोबार फछ्र्योट सुविधा दिइरहेको अवस्थामा बैंकको डिजिटल बैंकिङ प्रणालीको विकास गर्नका लागि विभिन्न फिनटेक कम्पनीहरूलाई सशक्तीकरणको अभियान चलाइरहेको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको जोखिम कायम रहेकै बेला भिडभाड क्षेत्रमा जानु उपयुक्त नदेखिएकाले महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्यसम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै बैंकले भिडभाडलाई सकेसम्म न्यूनीकरण गर्नका लागि पछिल्लो समयमा फिनटेक कम्पनीहरूमार्फत सहकार्य गर्दै बैंकिङ सेवा तथा सुविधालाई प्राथमिकताका साथ डिजिटलाइज गरिरहेको छ ।

हाल मुलुकभर रहेका तीन सय ३९ शाखा कार्यालयहरू, चार सय ७१ वटा एटीएम, ८८ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २२ लाखभन्दा बढी ग्राहकहरूसाथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुई अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया