Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनवनियुक्त डेपुटी गभर्नरद्वय ढुंगाना तथा मिश्रद्वारा पद तथा गोपनीयताको शपथग्रहण

नवनियुक्त डेपुटी गभर्नरद्वय ढुंगाना तथा मिश्रद्वारा पद तथा गोपनीयताको शपथग्रहण


काठमाडौं ।
नेपाल राष्ट्र बैंकका नवनियुुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्र बैंकका अनुसार बुधबार नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष डेपुटी गभर्नरद्वयले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।

सोपश्चात् उनीहरूले पदबहाली समेत गरेको राष्ट्र बैंकले जनाएको छ । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, बालुवाटारमा आयोजित एक समारोहमा उनीहरूलाई शपथग्रहण गराएका हुुन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७७ फागुन २५ गतेको निर्णयअनुसार उनीहरू डेपुटी गभर्नर पदमा नियुक्त भएका थिए । शपथग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यको क्रममा नवनियुक्त डेपुटी गभर्नरहरूलाई बधाई ज्ञापन गर्दै गभर्नर अधिकारीले दुवैसक्षम कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरमा नियुक्त हुनुभएकोमा प्रसन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए ।

डेपुटी गभर्नर पद बढी जिम्मेवार रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले तरल राजनीतिक अवस्थामा पनि समयमै नियुक्ति भएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा गभर्नर अधिकारीले दुई जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर नियुक्त हुने कानुनी व्यवस्थाअनुसार उहाँहरू नियुक्त हुनुभएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि सामूहिक सहयोगात्मक कार्यप्रणाली कायम रहने विश्वास व्यक्त गरे । आफू कार्यमुखी, नतिजामुखी तथा संस्थाको गरिमाप्रति समर्पित रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सबैको सल्लाह र सुझावअनुसार अघि बढ्ने कुरा बताए ।

कार्यक्रममा नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रले संस्थाको गरिमामय जिम्मेवारी प्रदान गरेकोमा संस्था प्रमुख तथा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै आफूमा खुसी तथा जिम्मेवारीबोध एकैपटक आएको कुरा अभिव्यक्त गरे । उनीहरूले संस्थाले परिलक्षित गरेको उद्देश्य हासिल गर्नमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै पहिलेजस्तै आगामी दिनमा पनि सबै पक्षबाट सहयोग कायम रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वरिष्ठ कार्यकारी निर्देशक भुवन कँडेलले स्वागत मन्तव्य राख्दै यथासमयमै डेपुटी गभर्नरहरू नियुक्त भएकोमा प्रसन्नता व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिए । कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका कार्यवाहक अध्यक्ष राजनप्रसाद रेग्मी र नेपाल राष्ट्रिय कर्मचारी संघ, नेपाल राष्ट्र बैंकका अध्यक्ष रेशम बल्छौडीले नव नियुक्त डेपुटी गभर्नरहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया