Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनिफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने


काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाका अनुसार चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरबराबरको बोन्ड जारी गर्न लागेको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को ‘आर्थिक संवाद’ कार्यक्रममा उनले भने, ‘चालू आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुनेगरी ३० मिलियन डलरको बन्ड जारी हुँदै छ, नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छौँ ।’ उनले सो बोन्डका लगानीकर्ताले आठ दशमलव पाँच प्रतिशत प्रतिफल पाउने पनि जानकारी दिए । लन्डनकै एक प्रसिद्ध संस्थाले ‘क्रेडिट -यापिङ’ गरी बोन्ड जारी हुने पनि उनले बताएका छन् । पाँचवर्षे अवधिको सो बोन्डबाट प्राप्त रकमलाई नेपालका ठूला विकास पूर्वाधारमा लगानी गर्ने पनि उनले जानकारी दिए ।

उनले निफ्रामा रणनीतिक साझेदार भित्र्याउने विषयमा पनि छलफल गरिरहेको छ । ठूला विकास पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापित निफ्राका लगानीकर्ताले प्रतिफलको चिन्ता गर्नै नपर्ने पनि उनले स्पष्ट पारे । ‘यो दीर्घकालीन प्रकृतिका पूर्वाधारमा लगानी गर्ने बैंक हो, एकै पटक धेरै होइन, दीर्घकालसम्म उचित प्रतिफल दिन्छौ’, खतिवडाले भने ।

उनले अहिले पनि करिब १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको तर त्यससम्बन्धी प्रक्रिया भने अघि नबढेको बताए । निफ्राले बैंक तथा वित्तीय संस्थाका लागि पनि बोन्ड जारी गर्ने तयारी गरिरहेको छ । वाणिज्य बैंकहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेको गणना हुनेगरी बोन्ड तयार गरिएको छ ।

त्यस्तै, इन्स्योरेन्स बोन्डका बारेमा पनि छलफल अघि बढाएको छ । इन्स्योरेन्स कम्पनीहरूले त्यस्तो बोन्ड खरिद गर्दा पूर्वाधारमा लगानी गरेबराबर मान्यता दिइनेछ । विशेषगरी जीवन बीमा कम्पनीका लागि इन्स्योरेन्स बोन्ड केन्द्रित हुनेछ । नाफिज संवादमा अध्यक्ष मोदनाथ ढकालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि साप्ताहिकरूपमा संवाद कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया