Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६–८७’ जारी

ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६–८७’ जारी


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेडले चैत एक गतेदेखि अर्थात् आइतबारदेखि आठ दशमलव पाँच प्रतिशत ग्लोबल आईएमई बैंक डिबेन्चर २०८६–८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले तीन अर्ब रुपैयाँबराबरको, एक हजार रुपैयाँ प्रतिऋणपत्र अंकित मूल्यका ३० लाखकित्ता ऋणपत्र निष्काशन गरेको हो ।

निष्काशन गरिएको कुल ऋणपत्रमध्ये एक अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी एक अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकद्वारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्काशन तथा बिक्री छिटोमा चैत ४ गते र ढिलोमा चैत १६ गतेसम्म बन्द हुनेगरी तोकिएको छ ।

बैंकले यस ऋणपत्रको अवधि १० वर्षको रहेको छ । वार्षिक आठ दशमलव पाँच प्रतिशतका दरले अर्ध वार्षिकरूपमा ब्याज भुक्तानी गरिनेछ । बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा प्रस्तावित ऋणपत्रको ब्याजदर अधिक रहेकाले आकर्षक तथा सजिलै बिक्री हुने अवस्थामा रहेको बैंकले जनाएको छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई औसत कर्जा जोखिम जनाउने इक्रा इस्युअर रेटिङ ए माइनस प्रदान गरेको छ । त्यसैगरी, ऋणपत्रलाई भने कम जोखिम जनाउने इक्रा एलए माइनस रेटिङ प्रदान गरेको छ । सो रेटिङ प्राप्त वित्तीय उपकरणलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।

बैंकले ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवं तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले सातवटै प्रदेश तथा ७५ जिल्लामा दुई सय ७० शाखा, दुई सय ४२ एटीएम, दुई सय ५३ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी आठ सयभन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया