Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनागरिक लगानी कोषको ३१औं वार्षिक उत्सव सम्पन्न

नागरिक लगानी कोषको ३१औं वार्षिक उत्सव सम्पन्न


काठमाडौं ।
पूर्वाधार र उत्पादनशील क्षेत्रमा कोषले लगानी परिचालन गर्नुपर्ने राजस्व सचिव रामशरण पुडासैनीले बताएका छन् । नागरिक लगानी कोषको ३१औं वार्षिकोत्सवको अवसरमा सचिव पुडासैनीले पुँजी बजारको स्थायित्व, गतिशीलता र विकासका लागि कोषको तर्फबाट थप काम गर्नुपर्ने समय आएको बताएका हुुन । उनले वित्तीय उत्तरदायित्व, पारदर्शिता, संस्थागत सुशासन र आकर्षक सामाजिक सुरक्षा योजना कार्यान्वयन नै कोषको प्रगतिको आधार स्तम्भ भएको धारणा व्यक्त गरेका छन् । त्यसैगरी कोषले पुँजी बजारको विकास, गतिशीलता र बजारको स्थायितत्वको बिषयमा काम गर्नुपर्ने बताए ।

कार्यक्रममा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराइले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कोषले सञ्चालनमा रहेका योजनाबाट एक खर्ब ६७ अर्ब ९९ करोड पुँजी संकलन गरी एक खर्ब ६३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेको बताए । डा. भट्टराईले उच्च आर्थिक विकासमार्फत समाजमा विद्यमान बेरोजगारीको अन्त्य गर्न नसेकसम्म दिगो विकास र स्थायित्व प्राप्त गर्न नसकिनेमा जोड दिए ।

यसको लागि कोषले आफूलाई अझ सुदृढ बनाउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ काम गर्नुपर्ने आवश्यकत औंल्याए । कोष स्थापनादेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु र फरक–फरक किसिमका बचत योजना सफलतापूर्वक सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको उनको भनाइ थियो ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले सेवाग्राहीको सेवालाई ध्यानमा राख्दै उपत्यका बाहिर विराटनगर र पोखरामा शाखा कार्यालय सञ्चालन गरीरहेकोमा सुदूरपश्चिम प्रदेशको अत्तरिया र लुम्बिनी प्रदेशको बुटवलमा शाखा विस्तारको लागि भवन भाडामा लिई कार्यसञ्चालन गर्नेतर्फ कोषले काम सुरु गरिसकेको बताए ।

कोषले विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता महसुस गरी नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइसकेको जानकारी दिए । कोषको भौतिक पूर्वाधार, मानवीय पूर्वाधार र नियम कानुनका पूर्वाधारहरूमा सुधार र संसोधन भइरहेको भन्दै उहाँले संगठनात्मक संरचनालाई अझ व्यावसायिक बनाउन र ऐन नियम कानुनको परिधिभित्र बसेर आफ्नो कार्यलाई अगाडि बढाएको धारणा राखे । उनले नेपालको आर्थिक वृद्धि एवं नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारको नीति, योजना, अठोट एवं प्रणमा साथ रहने प्रतिबद्धना व्यक्त गरे ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कोषले कुल लगानीको छ÷सात प्रतिशत मात्रै पुँजी बजारमा लगानी गरेको भन्दै उनले यो प्रतिशत १०, १२ प्रतिशतसम्म पु-याउनुपर्नेमा जोड दिए । स्वदेशी मात्रै नभएर विदेशी स्रोत र साधनलाई परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए । कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसेले समग्र कर्मचारीको हकहितमा काम गर्नुपर्ने धारणा राखे ।

सो अवसरमा कोषले सञ्चालन कार्यक्रमहरूमा कर्मचारी बचत वृद्धि अवकास कोष, उपदान तथा पेन्सन कोष, एकांक योजना, लगानीकर्ता हिसाब योजना, निजामती बीमा कोष, शिक्षक बीमा कोष, सैनिक बीमा कोष, नार्क बीमा कोष, नेपाल प्रहरी बीमा कोष, सशस्त्र प्रहरी बीमा कोष, राष्ट्रिय अनुसन्धान बीमा कोष तथा नागरिक पेन्सन योजनालगायतका बारेमा जानकारी दिएको थियो ।

योसँगै कोषले सहभागी कर्जा, परियोजना कर्जा, सरकारी ऋणपत्र तथा धितोपत्र लगानीजस्ता क्षेत्रमा कार्य गरी देशको कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पु-याउँदै आएको छ । कोषले वार्षिकोत्सव कार्यक्रमको अवसरमा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरेको थियो भने कोष कर्मचारी युनियनले आयोजना गरेको खेलुकुदलगायतका कार्यक्रमका विजयीलाई पुरस्कृत गरेको थियो भने प्रविन राई, मनमोहन मिश्र र सिरिषा श्रेष्ठ उत्कृष्ट कर्मचारीको रूपमा छनोट भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया