Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारमर्चेन्ट बैंकरद्वारा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिम

मर्चेन्ट बैंकरद्वारा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिम


काठमाडौं ।
मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा एसोसिएसले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भए मात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।

तालिममा पुँजी बजारका बारेमा कलम चलाउँदै आएका ३० भन्दा बढी पत्रकार सहभागी थिए । जसमा नेपाल धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक रूपेश केसी र एसोसिएसनका महासचिव पारसमणि ढकालले बुक बिल्डिङबारे प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले यस्ता तालिम देशव्यापीरूपमा आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए । सहभागी वक्ताहरूले पुँजीबजारमा गलत सूचना प्रवाहले लाखौँ लगानीकर्ताको लगानी जोखिममा पर्नसक्ने बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौंँ लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने जिकिर उनले गरे । बोर्डका पछिल्ला निर्णय र कार्यले पुँजीबजारमा नयाँ–नयाँ कीर्तिमान कायम हुँदै गएको दाबी उनको छ ।

यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । सीडीएस एन्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले प्राविधिक कारणले सिस्टममा समस्या देखिँदा पनि संस्थालाई जोडेर सूचना प्रवाह हुँदा संस्थाप्रति लगानीकर्ता रुष्ट हुने देखिएको भनाइ राखे । उनले अर्को साताबाट मेरो सेयरमा कुनै पनि समस्या नदेखिने बताएका छन् ।

मेरो सेयरको समस्या समाधानका लागि गत हप्ता दुईवटा सफ्टवेयर जडान गरिएको छ । तर, पुँजी बजारमा धेरै संस्था आबद्ध भएकाले एकमा समस्या आउँदा अर्को प्रभावित हुनेगरेको उनको भनाइ छ । कहिले इन्टरनेट राम्रो नचल्दा पनि सीडीएससीलाई नै दोष दिइने गरेको उनको भनाइ छ ।

सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले कमजोरी पहिचान गर्नु पत्रकारको धर्म भएको बताए । कहाँनेर हतौडा चलाउँदा कमजोरी हट्छ भन्ने जान्न यस्ता तालिम अति नै महत्वपूर्ण हुने उनको भनाइ छ ।पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ । गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता छ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ । 


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया