Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंक १५औं वर्षमा प्रवेश

सिटिजन्स बैंक १५औं वर्षमा प्रवेश


काठमाडौं ।
सटिजन्स बैंक इन्टरनेसनल लिमिटेड १५औं वर्षमा प्रवेश गरेको छ । विसं २०६४ वैशाख ७ गतेदेखि २०औं वाणिज्य बैंकको रूपमा स्थापना भएको बैंक फागुन सात गते मंगलबार १५औं वर्षमा प्रवेश गरेको हो । तत्कालीन सयममा ५६ करोड रुपैयाँ चुक्ता पुँजीबाट स्थापना भएको बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको जनाएको छ । बैंकले यस अवधिमा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक रतिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ ।

त्यसैगरी पछिल्लो समयमा सिर्जना फाइनान्सलाई पनि प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरिसकेको छ । बैंक स्थापना भएको वर्ष समाप्तीमा एक अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब चार करोड रुपैयाँ कर्जा लगानी गरेकोमा आर्थिक वर्ष २०७७/७८ को चैत्र मसान्तसम्म आइपुग्दा बैंकको कुल निक्षेप करिब एक खर्ब २९ अर्ब रुपैयाँ रहेको छ भने करिब एक खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पछिल्लो एक दशकको अवधिमा बैंकको नाफामा समेत उच्चदरमा वृद्धि भएको छ । बैंकको नाफा पछिल्ला पाँच वर्ष निरन्तर एक अर्बभन्दा माथि रहँदै आएको छ । गत आर्थिक वर्षमा मात्र एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा करिब एक अर्ब ५४ करोड रुपैयाँ नाफा गरेको छ । स्थापनाको पहिलो वर्ष नौवटा शाखाहरूबाट सेवा प्रदान गर्दै आएकोमा हाल यस बैंकले सातै प्रदेशमा फैलिएका आफ्ना एक सय ६७ वटा शाखाहरूबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैयमाससम्ममा थप ७४ वटा शाखाहरू विस्तार गरिसकेको छ । बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा सहरबजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्न बैंकले स्थापना कालदेखि नै पहलकदमी गरिसकेको थियो ।

२०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केही उदाहरणहरू हुन् । वित्तीय पहुँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्द्धन तथा संघीयतालाई दह्रो र सहज बनाउन सरकारले अवलम्बन गरेको सबै नेपालीको बैंक खाता भन्ने नीतिलाई आत्मसात् गर्दे बैंकले नेपालको दुर्गम क्षेत्रमा पनि शाखाहरू विस्तार गर्दै आएको छ ।

बैंकको थालनी हुँदा ४४ जना कर्मचारी रहेकोमा हाल यस बैंकसँग एक हजार छ सय जना कर्मचारी आबद्ध छन् । यसै सिलसिलामा बैंकमा निरन्तर दुई कार्यकाल पूरा गरी सञ्चालक समितिमा योगदान पु-याएका सञ्चालक तथा बैंकमा निरन्तर १० वर्ष कार्यरत पदाधिकारी एवं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिऐको छ । ‘भित्र सिस्टम र बाहिर इमेज’को नारालाई अंगीकार गरेको बैंकमा आउने सेवाग्राहीलाई पहिला नमस्तेका साथ अभिनन्दन गर्दै सेवा प्रवाह गर्ने प्रचलन रहेको छ ।

सूचना प्रविधिमा आएको आमूल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकासक्रमलाई आत्मसात् गर्दै बैंकले एक सय ११ वटा स्थानबाट एटीएम सेवा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको जनाएको छ ।

बंैकको यो १४ वर्षको अवधिमा तीन लाख ४४ हजार एक सय ८३ ग्राहकहरूले मोबाइल बैंकिङ सेवाको उपयोग गर्दै आएका छन् । सिटिजन्स बैंकको इ–बैंकिङको प्रयोगकर्ता २३ हजार छ सय ६० पुगेको छ भने सिटिजन्स डेबिट तथा क्रेडिट कार्डधारकको सङ्ख्या एक लाख ७९ हजार सात सय ४० रहेको छ ।

बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहकहरूले विभिन्न प्रकारको सेवा लिँदा विशेष छुटको प्रबन्ध मिलाइएको र यसका निम्ति बैंकले हालसम्म एक सय ३७ वटा विभिन्न क्षेत्रका सेवा प्रदायकहरूसँग विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपालका विभिन्न सेवा प्रदायकहरूसँग सहकार्य गर्दै आएको बैंकले हालसालै भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकहरूलाई अस्पतालको सेवा शुल्कममा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

खुद्रा लेनदेन र किनमेललाई सहज, सरल र झन्झटरहित बनाउनका खातिर बैंकले बैंकले विभिन्न तरकारी बजार, फलफूल बजार, स–साना किराना पसलहरू, पान पसल, पेट्रोल पम्प आदिजस्ता स्थानहरूमा पाँच हजार तीन सय १९ वटा क्यूआर कोड तथा चार सय ४० वटा पस मेसिन वितरण गरेको छ । बैंकले यस वर्ष विभिन्न जनचेतनामूलक तथा जानकारीमूलक श्रव्यदृश्य सामग्री पनि सार्वजनिक गरेको थियो ।

यसै सिलसिलामा बैंकले क्यूआर कोडको बारेमा जागरण फैलाउने उद्देश्यका साथ एक श्रव्यदृश्य सामग्री समेत सार्वजनिक गरेको छ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नाराका साथ स्थापित यस बैंकले स्थापना कालदेखि नै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न संस्थालाई आर्थिक सहयोग उपलब्ध गराइसकेको छ । बैंकले आगामी दिनहरूमा अझै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया