Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकस्तरीय कारोबार रकममा गिरावट

बैंकस्तरीय कारोबार रकममा गिरावट

आठ महिनामा सात खर्ब ४५ अर्ब रुपैयाँ मात्र कारोबार


काठमाडौँ ।
बैंकिङ क्षेत्रमा अन्तरबैंक अर्थात् बैंकस्तरीय कारोबार रकममा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुले कुुल सात खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँबराबरको अन्तर बैंक कारोबार गरेका छन् । यो कारोबार रकम गत आवको सोही अवधिको तुलनामा झण्डै पाँच खर्ब रुपैयाँले कम हो ।

राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले मात्र चालू आवको पछिल्लो आठ महिनाको अवधिमा पाँच खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका छन् । यस अवधिमा सञ्चालनमा रहेका क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंक र २० वटा फाइनान्स कम्पनीहरुले भने एक खर्ब ४६ अर्ब ७० करोड रुपैयाँ अन्तर बैंक कारोबार गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भने बैंक तथा फाइनान्स कम्पनीहरुले १३ खर्ब ३७ अर्ब ६८ करोड रुपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए । जसमध्ये वाणिज्य बैंकहरुको मात्र अन्तरबैंक कारोबार रकम १२ खर्ब २७ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो भने विकास बैंक र फाइनान्स कम्पनीहरुको कुुल अन्तर बैंक कारोबार रकम एक खर्ब १० अर्ब पाँच करोड रुपैयाँ रहेको थियो । सोही आधारमा २०७६ फागुनमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन दशमलव ९७ प्रतिशत रहेकोमा २०७७ फागुनमा दुुई दशमलव तीन प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा चार दशमलव ३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा एक दशमलव २६ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ फागुनमा एक दशमलव २६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ फागुनमा नौ दशमलव ४५ प्रतिशत रहेकोमा २०७७ फागुनमा छ दशमलव ८४ प्रतिशत कायम भएको छ । २०७७ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ७६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर आठ दशमलव ७३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ता दरहरु क्रमशः छ दशमलव ७७ प्रतिशत र ११ दशमलव ८० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया