Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबोर्डद्वारा लगानी व्यवस्थापनको लागि पाँचवटा संगठित संस्थालाई पूर्वाधार तयार गर्न सूचित

बोर्डद्वारा लगानी व्यवस्थापनको लागि पाँचवटा संगठित संस्थालाई पूर्वाधार तयार गर्न सूचित


काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले पाँचवटा संगठित संस्थाहरूलाई लगानी व्यवस्थापनसम्बन्धी कार्य गर्नको लागि आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको छ । बोर्डका अनुसार विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र सञ्चालन गर्न कोष व्यवस्थापकको रूपमा अनुमतिपत्र प्राप्त गर्न बोर्डमा विभिन्न नौ संगठित संस्थाले निवेदन दिएकोमा उक्त नियमावलीबमोजिमको आवश्यक कागजात तथा विवरण पेस गर्ने ग्लोबल इक्विटी फण्ड प्रालि, लक्ष्मी क्यापिटल मार्केट लि., एनआईबीएल एस क्यापिटल लि., एनआइसी एसिया क्यापिटल लि. र एनएमबी क्यापिटल लिमिटेडलाई कोष व्यवस्थापकको रूपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरिएको हो ।

नेपालमा पहिलो पटक विशिष्टीकृत लगानी कोषको स्थापना तथा सञ्चालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको बोर्डले जानकारी दिएको छ । नेपालको पुँजी बजारमा हाल सेयर, डिवेञ्चर, सामूहिक लगानी कोषजस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पुँजी परिचालनको नयाँ वैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पुँजी परिचालन हुने, निजी क्षेत्रको स्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा वृद्धि भई धितोपत्र बजारमार्फत अर्थतन्त्रमा थप टेवा पुग्ने विश्वास बोर्डले लिएको छ ।

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरूको विकास गरी सञ्चालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रूपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटी, भेञ्चर क्यापिटलजस्ता कोषको स्थापना र सञ्चालनका लागि बोर्डबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लागू भएको जानकारी पनि बोर्डले दिएको छ ।

प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलजस्ता कोषहरूमार्फत पुँजी परिचालन भई नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न र नयाँ व्यवसाय, उद्यमहरूलाई सुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरू प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र सञ्चालनले पुँजी बजारको दायरा फराकिलो हुने, पुँजी बजारमा नयाँ एवं आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय सञ्चालनका लागि स्वदेशी तथा विदेशी पुँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरूलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने जानकारी बोर्डले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया