Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकका ग्राहकले घरमै बसेर दुई लाखसम्मको कर्जा पाउने

सिटिजन्स बैंकका ग्राहकले घरमै बसेर दुई लाखसम्मको कर्जा पाउने


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकहरूले घरमा नै बसेर दुई लाख रुपैयाँसम्म कर्जा पाउनेभएका छन् । बैंकका अनुसार एफ वान सफ्ट इन्टरनेशनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरूको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक हो । जेठ २० गते अर्थात् बिहीबारबाट बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कम्प्युटरमा क्लिक गरी ‘पेडे लोन’ योजना सार्वजनिक गरेका हुन् ।

बैंकमा तलब खाता सञ्चालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरूले अधिकतम ३० दिनसम्मका लागि अधिकतम दुई लाख रुपैयाँसम्म मोबाइल बैंकिङबाट ‘पेडे लोन’ सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानुनी कागजात गरी रहनुपर्ने छैन ।

ग्राहकहरूलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न ‘पेडे लोन’ सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको छ । विनाधितो, विनाकागजी प्रक्रिया, विनाबैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । आफ्ना सेवाहरूलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरूलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले ‘पेडे लोन’ योजना सञ्चालनमा ल्याएको हो ।

बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरूको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ६८ वटा शाखा, एक सय ११ वटा एटीएम र एक सय नौवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुननसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया